Nic Ad Nic Ad
Nic Ad Nic Ad

घनश्याम भुसालको टिप्पणी–ओली प्रवृत्तिका मानसपुत्रहरू आज सडकमा छन्

बुधबार, वैशाख ६, २०८०

काठमाडौं –नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन् । 

बुधवार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीका कारण नै वामपन्थी कम्युनिष्टमा मुसल पैदा भएको बताए ।

उनले ओली प्रवृत्तिमा आफूलाई फाइदा हुने सिद्धान्त, आफू विचार र आफ्ना समर्थक मात्रै असल हुन् अरू सबै शत्रु हुन् भन्ने कुरा हाबी भएको उल्लेख गरे । 

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा नेता बनेर हिँडेको आरोप उनले लगाए । 

उनले भने, ‘दुर्भाग्यले हामीले बनाएको धेरै राम्रो पार्टीभित्र एउटा मुसल जन्मियो। यदुवंशी मुसल जन्मियो । त्यो ओलीवादको मुसल थियो । ओलीवाद भनेर मैले व्यक्तिको कुरा गरेको होइन, त्यो एउटा प्रवृत्तिका रुपमा हुर्कियो । यसमा विचार के हो भन्दा म हो । मेरो हो, मेरा हुन् । ओलीवाद र ओली प्रवृत्तिको सिद्धान्त के हो भन्दा मलाई जे गर्दा फाइदा हुन्छ त्यही हो सिद्धान्त । म विचार हो, मेरो फाइदा सिद्धान्त हो, मेरा समर्थक मात्रै असल हुन् अरू सबै शत्रु हुन् भन्ने कुरा भइसकेपछि वामपन्थीमा यदुवंशी मुसल तयार हुन्छ । भएको राम्रो पार्टी र राजनीतिक बिगार्न संसद् विघटनबाट सुरु भयो । यो दुर्दशाको कारण यही प्रवृत्तिको कारण गर्दा राष्ट्रिय राजनीतिमा यी समस्या दखिएका छन् र नयाँ राजनीति वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा छन् । जब अनुशासनहीनताको, मूल्यहीनताको फन्टुसहरुका बीचमा झगडा हुन्छ, प्रतिस्पर्धा हुँदा सबैभन्दा फन्टुसले जित्छ । आज त्यही भइरहेको छ, सडकमा सबैभन्दा फन्टुसहरु नेता भएर हिँडेका छन् । यो राष्ट्रिय जीवन संकटको डरलाग्दो भुमरीका नजिक छ ।’

 
 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्