भारतको १२० वटा रेल बनाउने ठेक्का रुसलाई
काठमाडौं–रुसको सबैभन्दा ठूलो रेल तथा लोकोमोटिभ निर्माता ट्रान्समसोल्डिङ (टीएमएच) ले भारतमा रेल बनाउन ठेक्का हात पारेको छ ।
भारतीय रेल्वेका लागि १२० वटा बन्दे भारत रेल उत्पादन, आपूर्ति र मर्मतसंम्भार गर्ने विश्वव्यापी बोलकबोल हात पारेको हो ।
लामो दूरीको रेलमार्ग, नयाँ रेलहरू प्रतिस्थापन गर्ने योजना अनुरुप यी रेलहरू बनाइन लागेको हो । यी रेलको गति प्रतिघण्टा १६० किलोमिटरसम्म हुने बताइएको छ ।
ठेक्का सम्झौता जुन १ सम्ममा हस्ताक्षर हुने भनिएको छ । १.८ अर्ब अमेरिकी डलरको लगानी रेल आपूर्र्तित, २.५ अर्ब डलर ३५ वर्षसम्मको व्यवस्थापनलगायत गरी ६.५ अर्ब अमेरिकी डलरको सम्झौता हुनेछ ।
ट्रान्सम्यासहोल्डिङका प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरिल लिपाले ‘निर्णय भइसकेको तर, कागजातमा हस्ताक्षर नभएको र मार्च २९ देखिको ४५ दिनभित्र हस्ताक्षर हुने’ बताएका छन् ।
टीएमएचले भारतीय राज्य निर्माण तथा इन्जिनियरिङ कम्पनी आरभीएनएलसँगको कन्सोर्टियममा टेन्डरमा भाग लिएको थियो । रूसी फर्मले जर्मनीको सिमेन्स, फ्रान्सको एल्स्टमलगायतलाई पछि पार्दै टेन्डर हात पारेको हो ।
यी रेलको उत्पादन भारतीय रेलवे, मराठवाडा रेल कोच कारखाना, लातूर र महाराष्ट्रमा हुने बताइएको छ । रेलहरूको डेलिभरी सन् २०२६ देखि २०३० को बीचमा हुने अपेक्षा गरिएको छ । तर, पहिलो दुई प्रोटोटाइपहरू सन् २०२५ कै अन्त्यमा परीक्षणको लागि तयार हुने बताइएको छ ।