बराबरीका बाबजुद सिटी सेमिफाइनलमा, बायर्न बाहिरियो
काठमाडौँ– क्वार्टरफाइनलको दोस्रो लेगमा बराबरी खेल्नका बाबजुद इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग सिटीले १–१ गोलको बराबरी खेलेको सिटी समग्रमा ४–१ को जितसहित अन्तिम ४ मा पुगेको हो ।
६ पटकको विजेता बायर्न भने क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
पहिलो लेगमा आफ्नो घरेलु मैदानमा सिटीले बायर्नलाई ३–० ले हराएको थियो ।
बायर्नको मैदानमा भएको दोस्रो लेगमा सुरुवाती अग्रता सिटीले लिएको थियो । यद्यपि, बराबरी गर्दै बायर्नले खेलमा फर्कने कोसिस गरे पनि त्यो सेमिफाइनसम्म पुग्नका लागि पर्याप्त भएन ।
अर्लिङ हालान्डले खेलको ५७ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, ३७ औं मिनेटमा भने हालान्ड पेनाल्टीमा गोल गर्न चुके । जसले गर्दा सिटी २–० को अग्रता लिनबाट चुक्यो ।
त्यसपछि खेलको ८३ औं मिनेटमा जोसुवा किमिचले पेनाल्टीमा गोल गर्दै बायर्नलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
अब सिटीले फाइनल प्रवेशका लागि साविक विजेता रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।