सिर्सिया नदीको प्रदूषण नियन्त्रणमा सहयोग गर्न मन्त्री रिजाललाई आग्रह
वीरगन्ज –वीरगन्ज महानगरपालिकाले तीनदशकदेखि प्रदूषणको चपेटामा रहेको सिर्सिया नदिको प्रदूषण नियन्त्रणका लागि पहल गरिदिन उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालालाई आग्रह गरेको छ ।
गृह जिल्ला आएका मन्त्री रिजालको स्वागत र सम्मानमा महानगरपालिकाले बिहीबार आयोजना गरेको कार्यक्रममा मेयर राजेशमान सिंहले वीरगन्जकै लाइफलाइनको रुपमा रहेको सिर्सिया नदीमा उद्योगबाट भइरहेको प्रदूषण नियन्त्रणका लागि आफूले प्राथमिकताका साथ काम गरिरहेको र त्यसमा मन्त्रालयको सहयोगको आवश्यकता रहेको बताए ।
रोजगारी वृद्धिका लागि उद्योगग्राम बनाउन गृहकार्य भइरहेको भन्दै मेयर सिंहले त्यसका लागि पनि आवश्यक बजेटको व्यवस्था मिलाइदिन आग्रह गरे । वीरगन्ज औद्योगिक तथा आर्थिक नगरी रहे पनि बजेट अभावमा नागरिकमुखि योजनाहरु कार्यान्वयनमा लैजान कठिन भएको भन्दै त्यसमा पनि आवश्यक साथ र समन्वय गरिदिन मेयर सिंहले आग्रह गरे ।
उद्योगमन्त्री रिजालले सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि महानगरले गरिरहेको प्रयास सह्रानीय रहेको भन्दै त्यसमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
‘धेरै वर्ष पहिले आमाले पनि यो नदीमा छठका बेला पूजा गर्नुभएको मलाई सम्झना छ,’ उनले भने, ‘अहिले त नदीको पानी धेरै कालो देखिन्छ, गन्हाउने पनि भएको छ, यसलाई स्वच्छ बनाउन महानगरले गरिरहेको प्रयास राम्रो छ, मन्त्रालयबाट मैले गर्नुपर्ने सहयोग गर्न म तयार छु ।’