Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसीसी प्रिमियर कप : मलेसियाद्वारा साउदी ८ विकेटले पराजित

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं–एसीसी प्रिमियर कपमा मलेसियाले साउदी अरेबियाविरुद्ध आठ विकेटको सहज जित निकालेको छ । बिहीबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न समूह ‘ए’को खेलमा साउदीले प्रस्तुत गरेको १५४ रनको सामान्य लक्ष्य मलेसियाले २१.२ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।

त्यसअघि, टस हारेपछि ब्याटिङमा आएको साउदी ४६.२ ओभरमा १५३ रनमै समेटिएपछि मलेसियाले १५४ रनको मध्यम लक्ष्य पाएको थियो ।

प्रतियोगिताको समूह ‘ए’मा रहेको मलेसियाको यो दोस्रो खेल हो । यसअघि, पहिलो खेलमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको थियो । साउदीको भने यो पहिलो खेल हो ।

जितसँगै दुई खेलबाट दुई अंक जोडेको मलेसिया तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल खेलेको अंकविहीन साउदी भने तालिकाको पुछारमा छ ।

यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कूल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

प्रिमियर कपको समूह ‘ए’मा नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपका स्थान बनाउनेछ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्