उपेन्द्रप्रति कटाक्ष गर्दै ओलीले भने– 'अलेली नाम सुनेको, कहाँको मान्छे चुनाव लड्न आयो?'
बारा– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादीका अध्यक्ष तथा सत्ता गठबन्धनको तर्फबाट बारा–२ का उमेदवार उपेन्द्र यादव चुनाव नजित्ने दाबी गरेका छन् ।
‘अलेली नाम सुनेको । थर ठेगाना थाहा नभएको । कहाँको मान्छे चुनाव लड्न आयो, लडेपछि कहाँ जान्छ ?’; उपेन्द्रप्रति कटाक्ष गर्दै ओलीले भने, ‘जित्ने त होइन । चुनाव लड्न आएका लड्छन्, लडेपछि फर्किन्छन् ।’
बिहीबार बारामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले पार्टीका उम्मेदवार पुरुषोत्तम पौडेल जनताको साथ लिएर आएको र चुनाव जित्ने दाबी गरे । उनले गठबन्धनको कार्यक्रमलाई टुक्रेसभाको संज्ञा दिँदै एमालेको बृहत आमसभा भएको पनि दाबी गरे ।
ओलीले पौडेलले जिते मतदाताले महसुस गर्ने गरी काम गर्ने भन्दै मतदान गर्न आग्रह समेत गरे ।
ओलीले वर्तमान सरकार केही महिनाभित्रै अब पनि रहने हो भने बृद्धभत्ता रोक्ने निश्चत रहेको बताए ।
विदेशीले समेत नपत्याएको यो सरकारसँग पैसा नै नभएकाले सरकारले दिँदै आएको वृद्धभत्ता रोकिने र प्रहरीलाई कपडा फेर्न समेत नपाउने उनले भने ।
उनले गठबन्धन सरकार नपछारेसम्म देशको विकास नहुने दाबी समेत गरे । उनले गढीमाईमा गठबन्धनका नेताहरू आएर एमालेलाई गाली गर्न मात्रै भएको पनि बताए ।