गुजरात साम्प्रदायिक दङ्गा प्रकरण : अभियोग लागेका ६८ जना निर्दोष ठहर
अहमदाबाद– सन् २००२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राज्यका प्रधानमन्त्री हुँदा गुजरातमा भएको धार्मिक दङ्गामा ११ जना मुस्लिमको हत्या गरेको आरोपमा मुद्दा लड्दै आएका पूर्वमन्त्रीसहित ६८ जनालाई भारतीय एक अदालतले बिहीबार सफाइ दिएको छ ।
११ जना मुस्लिमको हत्यापछि रेलमा भएको आगलागीमा परी ५९ जना हिन्दू तीर्थयात्रीको मृत्यु भएको र यसैलाई लिएर भएको धार्मिक हिंसामा कम्तीमा एक हजार व्यक्तिको मृत्यु भएको थियो ।
हिन्दू राष्ट्रवादी नेता मोदीमाथि घटनालाई नजरअन्दाज गरेको आरोप लागेको थियो । सन् २०१४ मा प्रधानमन्त्री बनेका उनलाई केही समयका लागि अमेरिकाको यात्रा प्रतिबन्धसमेत लगाइएको थियो । मोदीलाई सन् २०१२ मा सफाइ दिइएको थियो ।
एक पूर्वराज्यमन्त्री र कट्टरपन्थी हिन्दू समूहका दुई वरिष्ठ सदस्यलाई सफाइ दिएसँगै बिहीबार समाप्त भएको यो मुद्दा ११ जना मुसलमानको मृत्युमा केन्द्रित थियो र १४ वर्षसम्म चलेको थियो ।
हत्या, हत्याको प्रयास र दंगाको आरोपबाट मुक्त भएपछि अभियुक्त र उनीहरूका समर्थकहरूले हिन्दू नारा लगाएका थिए र अहमदाबादको अदालत बाहिर धेरैले आँसु झार्दै रोएका थिए ।
पूर्वमन्त्री माया कोडनानीलाई यसअघि ९७ जनाको मृत्यु भएको दङ्गाको अर्को घटनामा आजीवन कारावासको सजाय सुनाइएको थियो तर पछि उनलाई पनि सफाइ दिइएको थियो ।
भारतको सर्वोच्च अदालतले नयाँ अनुसन्धानको आदेश दिएपछि सुरु भएका केही मुद्दामध्ये यो अन्तिम मुद्दा हो । मुद्दामा कूल १८८ जना दोषी ठहर भएका छन् भने ३१३ जनाले सफाइ पाएका छन् ।
गत अगष्टमा १४ जना मुसलमानको हत्या गरेको अभियोगमा जेलमा रहेका ११ जनालाई रिहा गरिएको थियो । सामुहिक बलात्कारमा परेकी बिलकिस बानोनामकी एक महिलाले आफ्नो रिहाईविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेकी छन् ।
यसैबीच विपक्षी दल काङ्ग्रेसकी समा मोहम्मदले फैसलाप्रति विमति जनाउँदै बिहीबार गरेको ट्वीटमा गुजरातको न्याय प्रणाली ‘ढोंग’ भएको बताएकी छिन् ।
यसअघि रेलमा भएको आगलागीमा आपराधिक षडयन्त्र र हत्याको अभियोगमा ३१ जना मुसलमानलाई दोषी ठहर गरिएको थियो ।