ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
काठमाडौँ– नेपालले एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत ओमानविरुद्धको खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएसँगै आयोजक नेपालले ब्याटिङ गर्ने भएको हो ।
नेपालले आज आफ्नो ५० औँ एकदिवसीय (ओडिआई) खेलमा ओमानविरुद्ध उत्रँदै छ ।
एसिसी प्रिमियर कपअन्तर्गतको यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
सन् २०१८ अगस्ट १ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपालले पहिलो ओडिआईको सुरुवात गरेको थियो । त्यसयता ४९ खेल खेलिसकेको नेपालले आज ५० खेलको कोषेढुंगा हासिल गर्नेछ ।
जारी प्रतियोगितामा आयोजक नेपाल आज आफ्नो दोस्रो खेल खेल्दैछ । जसमा नेपालले ओमानको सामना गर्न लागेको हो ।
पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो ।
तर, त्यो ओडिआई मान्यता प्राप्त खेल थिए । यद्यपि, एसिया कप छनोटका लागि महत्वपूर्ण खेल थियो ।
समूह ‘ए’मा रहेको नेपालका लागि जारी प्रतियोगितामा ओमान बलियो प्रतिद्वन्द्वी हो । यसर्थ, सेमिफाइनल यात्रा सहज बनाउन नेपालले आज यो खेल जित्नैपर्ने हुन्छ ।
प्रतियोगिताअघिको अभ्यास खेलमा नेपालले ओमानलाई हराइसकेको छ । यसर्थ, नेपाल आज उच्च मनोबलमा रहनेछ ।
यस्तो छ नेपाली टोली :
रोहित पौडेन (कप्तान) कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी ।
वैकल्पिक खेलाडी : अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो ।