Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालले कीर्तिमानी रन बनायो, ओमानलाई दियो विशाल लक्ष्य

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौँ– एसिसी प्रिमियर कप क्रिकेटमा घरेलु टोली नेपालले कीर्तिमानी ३१० रन बनाउँदै ओमानलाई ३११ रनको विशाल लक्ष्य दिएको छ । 

यसअघि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो । सो आज भंग हुँदै कीर्तिमान बनेको हो ।

नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो ।

नेपालको सुरुवात भने सुखद हुन सकेन । नेपालले खाता नखोली २ विकेट गुमाएको थियो ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख शून्य रनमै आउट भएका थिए । त्यो बेला नेपालले ३.४ ओभर खेलिसकेको थियो ।

त्यसपछि आएका ब्याटरले सम्हालिएर खेलेपछि नेपालले उच्च योगफल बनाएको हो ।

नेपालका लागि कुशल मल्लले विष्फोटक ब्याटिङ गर्दै ५९ बलमै शतक बनाए । उनी ६४ बलमा १०८ रन बनाउँदै आउट भए ।

यस्तै, सोमपाल कामीले पनि विष्फोटक ब्याटिङ गरे । उनले अर्धशतकीय पारी खेल्दै ४८ बलमा ६३ रन बनाए ।

यसैगरी, भीम सार्कीले ३३ जोडे । त्यसैगरी, करण केसी र आरिफ शेखले समान २९ रन बनाए । अन्तिमतिर आएका करणले १५ बलमै २९ रन बनाएका हुन् । 

त्यस्तै, कप्तान रोहित पौडेलले २३, सन्दीप लामिछानेले ८ तथा दीपेन्द्रसिंह ऐरीले ७ रन जोडे ।

केहीबेरपछि नेपालले फिल्डिङ गर्नेछ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्