कीर्तिमानी खेलमा नेपालले ओमानलाई ८४ रनले हरायो
काठमाडौँ– नेपालले ओमानलाई ८४ रनले हराएको छ । एसीसी प्रिमियर कपमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको हो ।
नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो । ओमानले ४६.३औं ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् र नेपाल विजयी भयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मदतमा कीर्तिमानी ३१० रन बनाएको थियो ।
के–के बने किर्तिमान ?
कीर्तिमान माथि कीर्तिमान रच्दै नेपालले ओमानलाई ८४ रनले पराजित गर्यो।
नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै पहिलो पटक ३०० भन्दा बढी रन जोड्यो। याे रन पनि किर्तिमानी रन हाे ।
युवा अलराउण्डर कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै सबैभन्दा छिटो १०० रन बनाउने नेपाली खेलाडीको कीर्तिमान राखे भने सन्दीप लामिछानेले सर्वाधिक चाँडो १०० विकेट लिने विश्वकै पहिलो बलरको कीर्तिमान आफ्नो नाममा लेखाए।
यी कीर्तिमान माझ विशेष के रह्यो भने दाबेदार ओमानलाई नेपालले लिगको महत्त्वपूर्ण खेलमा पराजित गर्यो ।
यसले नेपाललाई १० राष्ट्र सम्मिलित प्रतियोगिता अन्तर्गत समूह 'ए' मा तालिकाको शीर्ष स्थानमा पुर्याउन सक्छ। जसले नेपालको फाइनलसम्मको यात्रा पनि सहज बनाउन सक्छ।
जारी एसीसी प्रिमियर कपको विजेता सेप्टेम्बरमा हुने एशिया कपमा छनोट हुनेछ। उक्त प्रतियोगितामा भारत र पाकिस्तान जस्ता टेस्ट शक्ति राष्ट्रसँग प्रतिस्पर्धा हुने तालिका छ।
नेपालको यो ५० औँ ओडीआई क्रिकेट प्रतिस्पर्धा पनि हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो ।
जवाफमा आएको ओमान ४६ ओभर ३ बलमा २२६ रनमा सीमित भयो।
शुक्रवारको खेलमा नेपाली स्पीनर सन्दीप लामिछाने सबैभन्दा कम खेलमा १०० विकेट लिने विश्वका पहिलो बलरको कीर्तिमान बनाए। उनले ४२ खेल खेलेर १०० विकेटको कोशेढुङ्गा पूरा गरेका हुन्।
यसअघि सो कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो। खानले सन् २०१५ मा ४४ खेल खेलेर सो कीर्तिमान रचेका थिए।
लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिने नेपालको पहिलो बलर पनि बने। २०१८ को अगस्ट १ मा नेदरल्यान्ड्स विरुद्ध लामिछानेले पहिलो विकेट लिएका थिए।
त्यसयताको पाँच वर्षको अवधिमा लामिछाने नेपाली टोलीको प्रमुख 'विकेट टेकर' बन्दै आएका छन्। सो क्रममा उनले तीन पटक पाँच विकेट लिएका छन्।
टी-२० अन्तर्राष्ट्रियमा पनि लामिछानेले ४४ खेलबाट ८५ विकेट लिइसकेका छन्। त्यस्तै लिस्ट ए मा उनको नाममा १४५ विकेट छ भने टी- २० मा उनले १९३ विकेट लिएका छन्।