Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोर्चुगल पुगे ब्राजिलका राष्ट्रपति लुला 

शनिबार, वैशाख ९, २०८०

लिस्बन– ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले जनवरीमा पदभार ग्रहण गरेपछि पहिलो पटक युरोप भ्रमणका लागि शुक्रबार पोर्चुगल आइपुगेका छन् ।

ब्राजिलका राष्ट्रपतिको कार्यालयले भनेको छ, ‘यो भ्रमण ब्राजिलका मुख्य साझेदारहरूसँगको कूटनीतिक सम्बन्धको पुनः सुरुवातको एक हिस्सा हो ।’

लुलाको चीन, संयुक्त राज्य अमेरिका र बाजिलका छिमेकी अर्जेन्टिना र उरुग्वेको भ्रमणपछि यो निर्णय भएको कार्यालयले जनाएको छ ।

दक्षिणपन्थी पूर्ववर्ती जायर बोल्सोनारोको शासनकालमा चार वर्षको सापेक्षिक अलगावपछि अन्तर्राष्ट्रिय मञ्चमा ‘ब्राजिल फर्किएको छ’ भन्ने प्रतिवद्धता गर्दै वरिष्ठ वामपन्थी नेताले राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । 

सम्झौताकर्ताको रूपमा ब्राजिलको भूमिकालाई पुनर्जीवित गर्ने प्रयास गर्दै उनले सबै देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने कसम खाएका थिए । एकातिर संयुक्त राज्य अमेरिका र युरोप वा अर्कोतर्फ चीन र रुसको पक्ष लिने कुराको उनले विरोध गरेका छन् ।

तर सन् २००३ देखि २०१० सम्म ब्राजिलको नेतृत्व गरेका ७७ वर्षीय नेताले युक्रेन द्वन्द्वलाई लिएर युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाको आलोचना गरेपछि केही कूटनीतिक असहजताको सामना गर्नुपर्ने हुन सक्छ ।

लुला शुक्रबार बिहान लिस्बन आइपुग पनि उनको औपचारिक कार्यक्रम शनिबार मात्र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो र पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टासँग भेटघाटबाट सुरु हुनेछ ।

भ्रमणका क्रममा ऊर्जा, विज्ञान, शिक्षा र पर्यटनका क्षेत्रमा करिब एक दर्जन द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

गत साता टाइम पत्रिकाले सार्वजनिक गरेको विश्वका प्रभावशाली व्यक्तिको सूचीमा परेका लुलाले सोमबार उत्तरी शहर पोर्टोका व्यापारिक नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

त्यसपछि उनी मङ्गलबार र बुधबार स्पेनको भ्रमण गर्नेछन् । स्पेनमा राजा फिलिप छैटौं र प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ । 

यद्यपि, युक्रेनको बारेमा उहाँको टिप्पणीलाई लिएर उनको भ्रमण विवादमा तानिएको छ ।

गत साता चीन भ्रमणमा आएका लुलाले वासिङ्टनले युद्धलाई ‘प्रोत्साहन’ गर्न बन्द गर्नुपर्ने र संयुक्त राज्य अमेरिका र युरोपेली संघले ‘शान्तिका बारेमा कुरा गर्न थाल्नुपर्ने’ बताएका थिए ।

उनले युक्रेनलाई द्वन्द्वको लागि दोष दिएको भनी यूरोपेली तथा अमेरिकी नेतृत्व उनीसँग असन्तुष्ट बनेको छ । उनले युक्रेनले क्रिमिया प्रायद्वीप छोड्न सहमत हुनुपर्ने सुझाव दिएका थिए । रुसले युक्रेनविरूद्धको गत वर्षको आक्रमणपूर्व सन् २०१४ मा पिक्रमियालाई कब्जा गरेको थियो ।

लुलाले सोमबार ब्रासिलियामा रुसी विदेशमन्त्री सर्गेइ लाभरोभसँग वार्ता गरेका थिए । लाभरोभले द्वन्द्वको समाधानका लागि दिएको सुझाबका लागि ब्राजिललाई ‘धन्यवाद’ दिएका थिए । 

पश्चिमा मुलुकहरूको आलोचनापछि लुलाले गत मङ्गलबार आफ्नो स्वर परिवर्तन गर्दै रुसले युक्रेनको क्षेत्रीय अखण्डताको उल्लङ्घन गरेको भन्दै निन्दा गरेका थिए ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ०५:५१
प्रतिक्रिया दिनुहोस्