Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपनिर्वाचन : भोलि पूर्वपश्चिम राजमार्ग बन्द, मुग्लिनदेखि तनहुँको मादी नदीसम्म पनि गाडि नचल्ने

शनिबार, वैशाख ९, २०८०

चितवन–आइतबार हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनले मुख्य राजमार्गसहित जिल्लामा सवारीसाधन चलाउन रोक लगाउने भएको छ ।

यसअघि मुख्य राजमार्गमा लामो दूरीका सवारीसाधनलाई समूहमा सुरक्षाकर्मीले स्कर्टिङसहित कटाउने निर्णय गरेको चितवन प्रशासनले निर्णय बदर गर्दै बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म राजमार्ग पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । 

चितवन क्षेत्र २ मा १३८ वटा मतदान केन्द्रमा आइतबार उपनिर्वाचन हुँदैछ ।

प्रमुख जिल्ला अधिकारीका अनुसार राजमार्ग बन्द रहने भएपनि एम्बुलेन्स, दमकलजस्ता अति आवश्यक सवारी साधन चल्नेछ ।

यसका लागि छिमेकी जिल्लालाई पनि सूचना गरिसकिएको प्रशासनले जानकारी दिएको छ । भोलि बिहान ६ बजेअगाडि नै सवारीसाधन यो जिल्लाबाट कटाइसक्न भनिएको छ । 

काठमाडौंबाट चितवन हुँदै जाने सवारीसाधन धादिङमा र काठमाडौं भित्रिने सवारीसाधन मकवानपुरमै रोकिनेछन् । 

मुग्लिनदेखि मादी नदीसम्म पनि बन्द

चुनावका दिन भोलि बिहान मुग्लिनदेखि तनहुँको मादी नदीसम्मको सडकखण्ड पूर्ण रुपमा बन्द गरिने भएको छ । तनहुँ क्षेत्र नं १ मा हुने उपनिर्वाचनका कारण बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरिने तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

सुरक्षा संवेदनशीलताका कारण सडक बन्द गर्नुपरेको रिजालले बताए। दमकल, एम्बुलेन्सलगायत अत्यावश्यकबाहेकका सबै सवारीसाधन ठप्प गरिने भएको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्