Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपनिर्वाचन : मतदानको समय बढाउने सर्वदलीय निर्णय खारेज [विज्ञप्तिसहित]

शनिबार, वैशाख ९, २०८०

काठमाडौं–सर्वदलीय बैठक गरेर उपनिर्वाचनमा मतदानको समय बढाउने निर्णय निर्वाचन आयोगले खारेज गरिदिएकोछ । सर्वदलीय बैठकका नाममा कानुन विपरीत गरिएका निर्णय खारेज गर्न आयोगले निर्देशन पनि दिएको छ । उपनिर्वाचन हुने क्षेत्रमा कानुन विपरीत विभिन्न निर्णय खारेज गर्न आयोगले निर्देशन दिएको हो । 

आइतबार बिहान ७ बजेबाट सुरू हुने उपनिर्वाचनमा बाराको देवताल गाउँपालिका–२ स्थित सिंचाई अफिस कल्याणपुरको मतदान केन्द्र ‘क’ र ‘ख’ मा मतदान अधिकृत सहितको सर्वदलीय बैठकले मतदानको समय बढाउने निर्णय गरेको थियो । 

उक्त निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगले कानून विपरित हुनेगरी अन्यले मतदान गर्नसक्ने बताएको छ । 

आयोगले शनिबार विज्ञप्ति जारी गर्दै बारा – २ को देवताल गाउँपालिका–२ स्थित सिँचाइ अफिस कल्याणपुर मतदान स्थलको मतदान केन्द्र ‘क’ र ‘ख’ मा मतदान अधिकृत सहितको सर्वदलीय÷सर्वपक्षीय बैठकले मतदानको समय बढाउने, अशक्त मतदाताका नाममा प्रचलित कानुन विपरीत हुने गरी अन्यले मतदान गर्न सक्ने र उम्मेदवारका मतदान प्रतिनिधि छनौट गर्ने लगायतको निर्णय गरेकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतदान) (पहिलो संशोधन) निर्देशिका, २०७९ को दफा ११ मा मतदान अधिकृतको काम, कर्तव्य र अधिकार, दफा २१ मा मतदान केन्द्रमा पुगेपछि सर्वदलीय बैठक राख्ने, दफा ३९ मा मतदान गर्ने समय, दफा ५० मा मतदान गर्दा प्राथमिकता दिने र दफा ५२ मा अशक्त मतदातालाई सहायता गर्ने विषयका सम्बन्धमा स्पष्ट व्यवस्था छ। यसर्थ, निर्वाचन सम्बन्धी प्रचलित कानून, निर्देशिका, कार्यविधि तथा आयोगको निर्देशन विपरीतका यस्ता निर्णयहरू बदर गरी प्रचलित कानून बमोजिम मात्र हुने गरी प्रतिनिधि सभा सदस्य उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्ने गराउने व्यवस्था हुन मुख्य निर्वाचन अधिकृत मार्फत सबै मतदान अधिकृतहरूलाई आयोग निर्देशन गर्दछ’, विज्ञप्तिमा उल्लेख छ । 

यस्ता प्रकृतिका निर्णयहरू उपनिर्वाचन हुने मतदान केन्द्रमा कहि कतै भए यसै निर्देशनलाई आधार मानी यस्ता निर्णयहरू बदर गरी प्रचलित निर्वाचन कानून बमोजिम गर्ने गराउने व्यवस्था गर्न सूचित गरिएको उपसचिव कमल ज्ञवालीले बताए । 

‘प्रचलित निर्वाचन कानून, निर्देशिका, कार्यविधि तथा आयोगको निर्देशन विपरीत निर्णय गर्ने माथि उच्च निगरानीमा राखी कानून बमोजिम कारवाही गर्ने व्यवस्था हुन समेत जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ।  

आयोगले आइतबार बिहान ७ बजेबाट निर्वाचन ५ बजेसम्मका लागि मतदानको समय तोकेको छ ।

election_ni2JdjOBno1682174913.jpg

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  २०:३२
प्रतिक्रिया दिनुहोस्