Nic Ad Nic Ad
Nic Ad Nic Ad

बारा–२ उपनिर्वाचन : शन्तिपूर्ण रूपमा मतदान जारी

आइतबार, वैशाख १०, २०८०

बारा –बारा क्षेत्र नम्बर–२ मा उपनिर्वाचनअन्तर्गत आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बारा–२ का सबै मतदान केन्द्रमा मतदान शन्तिपूर्ण रूपमा जारी रहेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

गर्भवती, अशक्त, ज्येष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उनीहरूलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने व्यवस्था मिलाइएको छ । स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न बारा निर्वाचन क्षेत्र न–२ मा दुई हजार ६०५ सुरक्षाकर्मी परिचालन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

उनका अनुसार बारा–२ मा एक हजार ६८८ नेपाल प्रहरी, ६०५ सशस्त्र प्रहरी र ३०० नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ । बदनियतपूर्वक कसैले मतपेटिकालाई चलाउन, धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई  गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको प्रजिअ सापकोटाले बताए ।

सो क्षेत्रमा ८२ मतदानस्थलमा १३८ मतदान केन्द्र तोकिएको छ । तीमध्ये ६५ मतदानस्थल अतिसंवेदनशील, १७ समान्य रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । 

महागढी र पचरौता नगरपालिका, करैयामाई, सुवर्ण र देवताल गाउँपालिकाका ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार ९३४ पुरुष र ४६ हजार ३१४ महिला गरी कुल एक लाख पाँच हजार २४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्