नेपालमा सर्वाधिक खोजीमा रहेका भारतका ‘मोस्ट वान्टेड’ खालिस्तानी नेता अमृतपाल सिंह पक्राउ
काठमाडौं –एक महिनाभन्दा लामो समयदेखि फरार रहेका खालिस्तानी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । उनलाई भारतको पञ्जाब प्रहरीले आइतबार बिहान पञ्जाबकै मोगाबाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यम जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई असामको डिब्रुगढमा सारिनेछ । करिब दुई हप्ताअघि अमृतपालका नजिकका सहयोगी पापलप्रीत सिंहलाई पञ्जाबकै होसियारपुरबाट पक्राउ गरिएको थियो ।
पापलप्रीतलाई अमृतपालको गुरु मानिएको थियो । पाकिस्तानको आईएसआईसँग उनको संलग्नता रहेको बताइएको छ ।
पञ्जाब प्रहरीले खालिस्तान समर्थक र उनका सहयोगीविरुद्ध कारबाही सुरु गरेसँगै अमृतपाल र पापलप्रीत गएको मार्च १८ तारिखदेखि फरार थिए ।
अमृतपाल र उनका सहयोगीमाथि वर्गीय विभेद फैलाउने, ज्यान मार्ने प्रयास, प्रहरीमाथि आक्रमण, सरकारी कर्मचारीलाई काममा बाधा पु¥याउनेजस्ता आपराधिक मुद्दा चलाइएको छ ।
शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै उनले ‘वारिस पन्जाब दे’ संगठनको नामबाट गतिविधि गर्दै आएका छन् । त्यो संगठनका प्रमुख अमृतपाल सिंह नेपालमा लुकेर बसेको नेपालस्थित भारतीय दूतावासले दाबी गरेको थियो ।
सिंह नेपालमा लुकेको हुनसक्ने भन्दै दूतावासले कूटनीतिक संयन्त्रमार्फत् खोजी गरिदिन नेपालको अध्यागमन विभागलाई आग्रह पनि गरेको थियो ।
उनका बुवा तरसेम सिंहले छोरा अमृतपालको ज्यानको खतरा रहेको बताएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।