बारा–२ मा ठाउँ–ठाउँमा धाँधली भयो : एमाले
काठमाडौं – बारा–२ मा नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले जारी मतदान निष्पक्ष गराउन सरकारसँग माग गरेका छन् ।
प्रहरी प्रशासन नै सत्ता गठबन्धनका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवको पक्षमा लागेकाले निष्पक्ष निर्वाचन गराउन पौडेलले माग गरेका हुन् ।
‘एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धांधलीका रुपहरू नांगो रूपमा देखिएको छ । यसले स्वच्छ निर्वाचन गराउने गठवन्धन सरकारको धज्जी उडाएको छ । म यस प्रकारका गतिविधि रोक्न र निष्पक्ष निर्वाचन गराउन माग गर्दछुै,’ उनले भनेका छन् ।
पौडेलले उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधली गरिरहेको आरोप लगाए ।
प्रहरी प्रशासनकै मिलेमतोमा एकपक्षीय मतदान गराएको भन्दै उनले त्यस्ता गतिविधि रोक्न माग गरे ।
बारा २ का इनरवा, सनफुलवा, सिँचाइ बुथ लगायतमा प्रहरीका सई र असई नै गठवन्धनको पक्षमा मतदान गराउन लागेको उनले आरोप लगाए ।
‘ठाउँ ठाउँमा मतदाता रोक्ने, इनरवा, सनफुलवा, सिँचाइ बुथ लगायतमा प्रहरीका सई, असई नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने, कब्जा गर्ने, एउटै व्यक्तिले दुई मत खसाउने जस्ता धाँधलीका रुप नाङ्गो रुपमा देखिएका छन्’, पौडेलले भनेका छन्, ‘यसले स्वच्छ निर्वाचन गराउने गठबन्धन सरकारको स्वरुप उदांगो बनाएको छ । म यस प्रकारका गतिविधि रोक्न र निष्पक्ष निर्वाचन गराउन माग गर्दछु’, उनले भने ।
यसअघि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पनि बारा २ का ठाउँ ठाउँमा सत्ता गठबन्धन बुथ कब्जा र धाँधलीमा उत्रिएको आरोप लगाएका थिए ।