नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक बुधबार
काठमाडौँ– नेपाल र संयुक्त अधिराज्य बेलायत द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम)को छैटौँ बैठक यही वैशाख १३ गते (२६ अप्रिल, २०२३) मा लण्डनमा हुने भएको छ ।
बैठकमा विकास साझेदारी र जलवायु सहयोग, व्यापार तथा लगानी, शिक्षा, पर्यटन र दुई देशका जनताबीचको सम्बन्ध, ब्रिटिश गोर्खालगायत नेपाल–बेलायत संलग्नताका विविध क्षेत्रको समीक्षा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नेछन् भने प्रतिनिधिमण्डलमा नेपाल सरकारका वरिष्ठ अधिकारीसमेत रहनेछन् । यो वर्ष नेपाल र बेलायतबीचको मैत्रीसन्धिको शताब्दी पूरा भएको छ ।
भ्रमणका दौरान परराष्ट्र सचिव पौड्याल अन्य औपचारिक भेटघाट तथा कार्यक्रममा पनि संलग्न हुने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८० २०:३३
प्रतिक्रिया दिनुहोस्