कोलकातालाई पराजित गर्दै चेन्नई शीर्ष स्थानमा
कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ ।
आइतबार राति ईडन गार्डनमा भएको खेलमा घरेलु टोलीविरुद्ध चेन्नईले सानदार जित निकालेको हो । अजिंक्या रहाणेको उत्कृष्ट ब्याटिङका साथै शिभम् दुवे र डेवन कोन्वेको अर्धशतकको मद्दतमा महेन्द्र सिंह धोनीको टिमले कोलकातालाई २३६ रनको लक्ष्य दिएको थियो । आईपीएलमा यो हालसम्मकै उच्च स्कोर हो ।
टस जितेर कोलकाताले पहिले फिल्डिङ रोजेपछि चेन्नईले ब्याटिङको निम्तो पाएको थियो । चेन्नईका रहाणेले २९ बलको सामना गर्दै ६ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ७१ बनाए । यस्तै कोन्वेले ५६ रन जोड्दा दुवेले ५० रन बनाए । ओपनर रुतुराज गाइकवाडले ३५ रन बनाए भने रविन्द्र जडेजाले १८ जोडे ।
कोलकाताका कुल्वान्त खेज्रोलियाले २ विकेट लिए भने वरुण चक्रवर्ती र सुयाश शर्माले १–१ विकेट ढाले ।
२३६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएको कोलकाता निर्धारित ओभरमा ८ विकेट गुमाएर १८६ रनमा समेटियो । उसका लागि दुवै ओपनर सस्तै रनमा आउट भए । नारायण जगदिसनले १ रन मात्रै बनाउन सके भने सुनिल नारिन शून्य रनमा पभेलियन फर्किए । जासन रोय र रिन्कु सिंहले अर्धशतक पूरा गरे पनि टिमलाई जिताउन सकेनन् । रोयले सर्वाधिक ६१ रन बनाए भने सिंहले ५३ रन जोडे । त्यसअघि भेन्कातेशले २० र नितिश रानाले २७ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।
चेन्नईका तुशार देशपान्डे र महिश थिकशानाले २–२ विकेट लिए भने आकाश सिंह, मोइन अलि, रविन्द्र जडेजा र मथिशा पथिरानाले १–१ विकेट लिए ।
जितसँगै १० अंक बनाएको चेन्नई तालिकाको शीर्ष स्थानमा पुगेको छ भने ४ अंकको साथ कोलकाता ८ औँ स्थानमा छ ।
चेन्नईले ७ खेलमा ५ मा जित निकालेको छ भने कोलकाता समान खेलमा ५ मा पराजित भएको छ । पछिल्लो चार खेलमा कोलकाता लगातार पराजित हुँदै आएको छ ।