Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा 

सोमबार, वैशाख ११, २०८०

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको अन्तिम सुनुवाई आजदेखि सुरु हुने भएको छ । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर  लामिछानेविरूद्धको मुद्दा आजदेखि अन्तिम  सुनुवाई हुने भएको हो ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको इजलासमा लामिछानेविरूद्धको मुद्दामा सनुवाई हुने भएको छ। उनको पेशी चौथौ नम्बरमा छ। यसअघि  चैत २६ गते न्यायाधीश शंकरराज बरालको इजलासले उक्त मुद्दामा दुई जना साक्षीको बकपत्र नभएकाले साक्षी बुझ्न  आदेश दिएको थियो।

गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो।  राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध  भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई निलम्बन गरेको थियो। 

वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस २८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो। 

विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत सर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। 

उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए।

क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो। 

सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो। सर्वोच्चले मुद्दालाई चाँडोभन्दा चाँडो किनारा लगाउनसमेत भनेको थियो।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्