नेभिगेशन
समाज विविध

सुदूरपश्चिममा  ‘लम्पी स्किन’ रोगले पशु–चौपाया धमाधम मर्न थाले

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट पशुपालक किसान प्रभावित हुन थालेका छन ।

रोगका कारण पशु धमाधम मर्न थालेपछि किसान समस्यामा परेका हुन । पशुको शरीरभरि गिर्खा देखा पर्ने र त्यस पछि घाउ भई निको नहुने समस्या रहेको पशुपालक किसानको भनाइ रहेको छ । 
गाई–गोरूले मुखबाट फिँज निकाल्ने, शरीर पूरै तातो हुने, नाकबाट सिँगान बग्नेलगायतका लक्षण देखा पर्ने गरेको छ । घाउमा किरा पर्ने र पशुको मृत्यु हुने गरेको छ ।
 
पशु चिकित्सकका अनुसार सो रोगबाट सङ्क्रमित भएका दुधालु पशुले दूध घटाउँदै लैजाने गर्दछन् । गत वर्ष लम्पी स्किन रोग कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का व्यावसायिक रुपमा गाईपालनमा लागेका किसानको फार्ममा देखा परेको थियो ।

हाल यो रोग व्यापकरुपमा फैलिएको छ । सुदूरपश्चिमका कैलाली कञ्चनपुरदेखि पहाडी र हिमाली जिल्लामा लम्पी स्किन रोग देखा पर्न थालेको पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा नरेश जोशीले जानकारी दिए । उनका अनुसार हालसम्म यस रोगबाट प्रदेशका नौवटै जिल्लामा दश हजार बढी पशु सङ्क्रमित भएका छन् । एक सयभन्दा बढी पशुको यसै रोगका कारण मृत्यु भइसकेको छ ।
 
‘रोगको सङ्क्रमण फैलिन नदिनका लागि किसानले सजग हुनु पर्छ,’ उनले भने, ‘रोग देखा परेका गाई गोरुलाई अलग्गै राखी सरसफाई गर्ने र आवश्यकताका आधारमा पशु चिकित्सक वा प्राविधिकको सल्लाहमा औषधिको प्रयोग गर्नुपर्छ ।’ सरुवा रोग भएकाले अरु पशुमा सङ्क्रमण फैलिन नदिनका लागि पशुपालक किसानलाई रोगबारे जानकारी दिने र निदानका उपायबारे जानकारी दिन आवश्यक रहेको उनले उल्लेख गरे ।
 
उनका अनुसार सबैभन्दा बढी यस रोगबाट गाई, गोरु र बाच्छाबाच्छी प्रभावित भएका छन् । थोरै भैँसीमा समेत यो रोग देखा परेको छ । भारतीय घुमन्ते व्यापारीले बिक्रीका लागि ल्याउने पशुबाट यो रोग फैलिएको आशंका स्थानिय पशुपालकले गरेका छन् । ‘रोगको निदानका लागि गाई–गोरूको ओसार–पसार र बेचबिखनको कार्य रोक्नु नितान्तै जरुरी छ,’ शुक्लाफाँटा नगरपालिकाका पशु शाखाका अधिकृत नारायणदत्त भट्टले भने,  ‘गाई गोरुलाई चराउन लैजाने कार्य बन्द नहुँदासम्म सङ्क्रमण रोक्न कठिन छ ।’

रोगलाई महामारीका रुपमा फैलिन नदिनका लागि किसानलाई सर्तक गराइनुपर्ने उनको भनाइ रहेको छ ।  लम्पी स्किन रोग विशेष गरी लामखुट्टे, टोक्ने झिङ्गा (स्टोमोक्सीस), किर्नालगायतबाट सर्ने गर्दछ । यस रोगको ठोस उपचार पद्धति नभएकाले लक्षणका आधारमा पशुको उपचार गरिन्छ ।

पक्स भाइरस समूहको लम्पी स्किन डिजिज भाइरसबाट सर्ने रोग हो । नेपालमा पहिलो पटक यो रोग विसं २०७७ मा मोरङ जिल्लामा देखा परेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता