तनहुँ–१ : स्वर्णिम वाग्ले विजयी
तनहुँ–तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका वाग्ले ३४ हजार ४८० मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार ९२ मत प्राप्त गरे ।
त्यस्तै, एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ५५५ मत प्राप्त गरे ।
मंसिर ४मा भएको निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यस क्षेत्रमा आइतबार उपनिर्वाचन भएको थियो ।
वाग्ले चैत १५ गते कांग्रेस छाडेका थिए । उनी सोही दिन राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर तनहुँ–१ बाट उम्मेदवार बनेका थिए ।
गोरखामा जन्मेका वाग्ले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।