सुडानमा १९ नेपाली सरकारको सम्पर्कमा
काठमाडौं–उत्तर अफ्रिकी मुलुक सुडानमा अप्रिल १५ देखि जारी युद्धले त्यहाँ रहेका विभिन्न देशका कुटनीतिज्ञ एवं नागरिकहरूलाई आफ्नो देश फर्किन बाध्य पारेको छ ।
दुई सैन्य समूहबीच जारी युद्धका कारण अहिलेसम्म ४०० बढीको ज्यान गइसकेको छ भने, थप सयौंको संख्यामा मानिसहरू घाइते भएका छन् ।
यसबीच नेपाल सरकारले पनि त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि उच्च सतर्कताका साथ सबै पक्षसँग समन्वय गरी आवश्यक प्रयास जारी राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
हालसम्म सुडानमा १९ जना नेपाली सम्पर्कमा आएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै, सुडानमा ६ नेपाली शान्ति सैनिकसमेत रहेका थिए ।
‘इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले सुडानमा रहेका नेपालीहरू, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन यूएनआईएसएफए र यूएनआईटीएएमएसमा कार्यरत नेपाली पदाधिकारीहरू, सुडानस्थित अवैतनिक नेपाली वाणिज्यदूत तथा सुडानी निकायसँग निरन्तर सम्पर्कमा रही विवरण अद्यावधिक गर्ने कार्य गरिरहेको’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाली राजदूतावास, कायरोले राजदूतावाससँग सम्पर्कमा रहेका १९ नेपालीको सूची तयार गरेको र सूचीकृत सबैजना हालसम्म सुरक्षित रहेको जनाएको छ’, विज्ञप्तिमा भनिएको छ ।
यस्तै, त्यहाँ रहेका ६ शान्ति सैनिकमध्येमा तीनजना नेपाली शान्ति सैनिक २३ अप्रिलमा अफ्रिकी मुलुक चाडतर्फ गएको मन्त्रालयले जनाएको छ ।
चाड पुग्ने तीनमध्ये एकजना आर्मी र दुईजना प्रहरी अधिकारी रहेका छन् । यस्तै, नेपाल प्रहरीका अर्का दुईजना पोर्ट सुडान पुगेका छन् भने, अर्का एकजना दक्षिण सुडान गइरहेका छन् । चाड पुगेका तीनैजना आज या भोलिसम्म नजिकको यूएन मिसन कहाँ पुग्ने र सबैजना सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता एवं ब्रिगेडियर जनरल कृष्णप्रसाद भण्डारीले बताए ।
सुडानको राजधानी खार्तुमस्थित संयुक्त राष्ट्रसंघका विभिन्न निकायमा कार्यरत सातजना नेपाली सोही दिन खार्तुमबाट सडकमार्ग हुँदै रेड सी (लाल सागर) स्थित पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेको र त्यहाँबाट हवाई सेवामार्फत युगाण्डा जाने तयारी रहेको बताइएको छ ।
मन्त्रालयले अहिलेको असहज र जटिल सुरक्षा अवस्थामा सुडानमा रहेका सबै नेपाली नागरिकलाई सुरक्षित स्थानमा रहन र अत्यावश्यक काममा बाहेक बाहिर हिँडडुल नगर्न आग्रह गरेको छ ।
यस्तै, मन्त्रालयले कुनै आपतकालीन अवस्थामा कायरोस्थित नेपाली राजदूतावासका अधिकारी दिपक घिमिरेलाई फोन तथा ह्वाट्सएपमा +२०१०९७७७२३४८ र +२०१०२९६०६६६२ नम्बरमा सम्पर्क गर्न सकिने बताएको छ ।