Nic Ad Nic Ad
Nic Ad Nic Ad

बुद्धिचालका खेलाडीलाई अब मासिक तलव

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं –नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय च्याम्पियनलाई मासिक तलव सुविधा दिने भएको छ ।

राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपमा खुलातर्फका विजेता फिडेमास्टर रुपेश जयसवाल र महिलातर्फकी विजेता फिडेमास्टर सुजना लोहनी महासंघले गरेको ऐतिहासिक घोषणाबाट लाभान्वित हुनेछन् ।

नेपालमा अहिलेसम्म फुटबल र क्रिकेटबाहेक अन्य कुनै पनि खेल संघले आफ्ना अन्तर्राष्ट्रिय खेलाडी वा राष्ट्रिय च्याम्पियनलाई मासिक तलव सुविधा दिने गरेका छैनन् ।

खेलाडीलाई संघबाट नै मासिक तलव उपलब्ध गराउनेमा बुद्धिचाल तेस्रो भएको छ । रुपेश र सुजनाले जनही मासिक १० हजार रुपैयाँ तलव पाउनेछन् ।

महासंघले सागर फिड्स प्राली, इटहरीसँगको सहकार्यमा खेलाडीलाई तलव सुविधाको सुरुवात गर्न लागिएको जानकारी दिएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष विदुरप्रसाद गौतम र सागर फिड्सका प्रवन्ध निर्देशक ज्ञानेन्द्र पराजुलीले एक वर्षे सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार सागर फिड्सले महासंघलाई वार्षिक २ लाख ४० हजार रुपैयाँ उपलब्ध गराउनेछ भने च्याम्पियन खेलाडहरु सागर फिड्सको ब्रान्ड एम्बेसडर रहनेछन् । ज्ञानेन्द्र नेपाल बुद्धिचाल महासंघका उपाध्यक्षसमेत हुन् ।

चैतमा नेपाल बुद्धिचाल महासंघको नयाँ कार्यसमिति निर्वाचित भएलगत्तै नयाँ प्रणालीमार्फत पहिलोपल्ट राष्ट्रिय च्याम्पियनसिप आयोजना भएको थियो ।

राष्ट्रिय बी च्याम्पियनसिपबाट छानिएका, फिडे रेटिङमा शीर्ष स्थानमा रहेका र साविक विजेता गरी १० खेलाडीबीच राउण्ड रोविन प्रणालीमा प्रतिस्पर्धा गराएर राष्ट्रिय च्याम्पियन छनोट गरिएको छ ।

नयाँ राष्ट्रिय च्याम्पियनहरुले सबै अन्तर्राष्ट्रिय आधिकारिक प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । उनीहरु महासंघको विधानअनुसार मताधिकारसहित कार्यसमितिमा आमन्त्रित सदस्यसमेत हुनेछन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार