किराँत समुदायको समाधिस्थल फोडेर फलामे वस्तु चोरी हुन थाल्यो
झापा– कमल गाउँपालिका–५ गेउरियास्थित किराँत समुदायको समाधिस्थलबाट फलामजन्य वस्तुहरू चोरी हुन थालेको छ ।
दर्जनौँ समाधि गृहका झ्याल र ढोका फोडेर फलामका रड र गृलहरू राति चोरी हुन थालेको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष कमन देवानले बताए । उनले किराँत समुदायको आस्थाको धरोहरको रूपमा रहेका समाधिस्थलको सुरक्षा गरिदिन स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गरिएको जानकारी दिए ।
उनले स्थानीय सरकारको समेत यस विषयमा ध्यानाकर्षण हुनुपर्ने बताउँदै भने, “समाधिस्थलका गृहहरू यसरी काटेर लैजाने घटना नयाँ समस्याका रूपमा देखा पर्यो । स्थानीय सरकार, सरोकारवाला र सम्बन्धित पक्षहरूले बेलैमा ध्यान दिऔँ ।”
पितृ पुर्खालाई समाधिस्थ गरिएको स्थानमा राति राति तोडफोड गर्ने र फलामजन्य वस्तुहरु चोरेर लैजाने गिरोह सक्रिय भएको पाइएको जनाउँदै उनले यस्तो गलत कार्य गरिरहेकालाई नियन्त्रणमा लिएर कारवाही गरिनुपर्ने माग गरे ।
रतुवामाई वृक्षरोपण आयोजनाको पश्चिम कुनामा रहेको गेउरिया समाधिस्थल झापामा सबैभन्दा ठूलो मानिन्छ । यहाँ हजारौँ व्यक्तिको समाधि छ । किराँतीहरूले आफ्नो परिवारका सदस्यको मृत्यु हुँदा जङ्गल वा खोला किनारमा लगेर माटोमा समाधिस्थ गर्ने परम्परा छ ।
गेउरियामा करिब डेढ बिघा क्षेत्रफलमा राई, लिम्बू, गुरुङ, शेर्पा, मगरलगायतको समाधि राखिँदै आएको छ । समाधिस्थलमा कङ्क्रिटको चिटिक्क परेका साना साना घर निर्माण हुने गरेका छन् । एकै ठाउँमा हजारौँ समाधि रहेकाले त्यो जङ्गल क्षेत्र समाधि बस्ती जस्तै बनेको छ ।
कमल–५ का वडाध्यक्ष लालबाबु बिष्टले समाधि गृहबाट सामान चोरी भएको कुनै जानकारी नआएको बताए ।
समाधिस्थललाई व्यवस्थित र सुरक्षित गर्नका लागि निश्चित क्षेत्रमा तारको घेराबेरा गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिसक्ने उनले जानकारी दिए ।