नेभिगेशन
खेलकुद
आइपिएल :

मुम्बईमाथि फराकिलो जित निकाल्दै गुजरात दोस्रो स्थानमा उक्लियो

काठमाडौँ– साविक विजेता गुजरात टाइटन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सलाई फराकिलो अन्तरले हराउदै दोस्रो स्थानमा उक्लिएको छ । 

गएराति घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको खेलमा गुजरातले मुम्बईलाई ५५ रनको फराकिलो अन्तरले हराएको हो । 
गुजरातले दिएको २०८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि निहाल वाधेराले २१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४० रन बनाए पनि यो जितका लागि पर्याप्त भएन ।

गुजरातका लागि नूर अहमदले ३ तथा मोहित शर्मा र राशिद खानले समान २÷२ विकेट लिए । यस्तै कप्तान हार्दिक पाण्ड्याको नाममा १ विकेट रह्यो । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । 

गुजरातका लागि ओपनर शुभमन गिलले ३४ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५६ रनको अर्धशतकीय पारी खेले । 
यस्तै, डेबिड मिलरले २२ बलमा २ चौका र ४ छक्काको सहयोगमा ४६ रन बनाए । 

यसैगरी, अनुभव मनोहरले २१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४२ रन जोडे ।

राहुल तेवातियाले अविजित २०, विजय शंकरले १९, कप्तान हार्दिक पाण्ड्या १३ र ऋद्धिमान शाहले ४ तथा राशिद खानले अविजित रन बनाए । 


मुम्बईका लागि पियुष चावलाले सर्वाधिक २ विकेट लिए ।
गुजरात सात खेलमा पाँच जित र दुई हारका साथ १० टोली सहभागी लिगको दोस्रो स्थानमा उक्लिएको छ । 

पाँच पटकको च्याम्पियन मुम्बई सात खेलमा समान चार हार र तीन जितका साथ अंक तालिकाको सातौं स्थानमा कायमै रहेको छ ।
चेन्नाई सुपर किंग्स अंक तालिकाको शीर्ष स्थानमा छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद