Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज सर्वाेच्चमा सांसद बामदेव गौतमको योग्यतामाथिको मुद्दामा पेशी

बुधबार, वैशाख १३, २०८०

काठमाडौँ– २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पराजित बामदेव गौतमलाई राष्ट्रियसभाको सांसद बनाउनु हुदैन भनेर सर्वाेच्च अदालतमा परेको रिट निवेदनमाथि आज सुनुवाई हुने भएको छ ।

आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा राष्ट्रिय सभा सदस्य गौतमविरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ हुने कार्यसुची छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले रिट निवेदन दर्ता गरेका थिए ।

प्रतिनिधि सभामा पराजित गौतम २०७७ साल भदौंमा राष्ट्रिय सभा सदस्यमा मनोनयन भएका थिए । निर्वाचनमा पराजित व्यक्तिलाई त्यही कार्यकालमा मनोनयन गर्न नहुने भनी सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो । तत्कालिन सत्तारुढ नेकपाले गौतमलाई सांसद बनाएको थियो ।

रिट निवेदनमाथि अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा राय बाझियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले निर्वाचनमा पराजित व्यक्तिलाई सोही अवधिमा मनोनयबाट जनप्रतिनिधीमूलक संस्थामा ल्याउनुलाई संवैधानिक नैतिकताको उल्लंघन भनी टिप्पणी गरेका थिए । अरु न्यायाधीशहरुले भने गौतमविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेका थिए । सोही कारण गौतम विरुद्धको रिट अझै सर्वाेच्चमा छ ।

जनताको मतबाट अस्वीकृत व्यक्ति फेरि अर्को निर्वाचनबाट अनुमोदिन नभएसम्म शासन व्यवस्थामा सहभागी हुनुलाई जनभावना अनुकुल काम भएको मान्न नसकिने भन्दै न्यायाधीश खतिवडाले गौतमको नियुक्तिलाई विरोधाभाषयुक्त भनी टिप्पणी गरेका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्