सी र जेलेन्स्कीबीचको वार्ताको अमेरिकाद्वारा स्वागत
वासिङ्टन– चिनियाँ राष्ट्रपति सी चिनफिङ र युक्रेनका राष्ट्रप्रमुख भोलोदिमिर जेलेन्स्कीबीच रूस र युक्रेनबीचको युद्ध अन्त्यको सम्भावनाबारे छलफल गर्न बुधबार भएको टेलिफोन वार्ताको ह्वाइट हाउसले प्रशंसा गरेको छ ।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले भने, 'राष्ट्रपति सी र जेलेन्स्कीबीच फोन वार्ता भएको खबरको हामी स्वागत गर्दछौं । यो राम्रो कुरा हो । अब यसले कुनै अर्थपूर्ण शान्ति अभियान वा योजना वा प्रस्तावको नेतृत्व गर्नेछ कि छैन भन्ने अझै सुनिश्चित भइनसकेको हाम्रो बुझाइ छ । हामी यो युद्ध अन्त्य होस् भन्ने चाहन्छौँ । हामीले लामो समयदेखि यही कुरा भन्दै आएका छौं ।’
यदि रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता बोलायो भने यो युद्ध ‘तत्काल’ अन्त्य हुन सक्ने उनले बताए ।
किर्बीले भने, ‘न्याय र दिगो शान्ति हुन सक्छ र विश्वसनीय आधार सिर्जना हुन सक्छ भने शान्तिमा पुग्ने कुनै पनि प्रयासको हामी स्वागत गर्दछौं । हाम्रो विचारमा, युक्रेनी नागरिक र राष्ट्रपति जेलेन्स्कीले यसमा सहभागिता नजनाउँदासम्म वा शान्तिवार्ताका लागि समर्थन नगरेसम्म शान्तिको बिषयले दिगो वा विश्वसनीय सार्थकता पाउनेछैन ।’