Nic Ad Nic Ad
Nic Ad Nic Ad

कतारविरुद्ध नेपालले तेस्रो विकेट गुमायो, सम्हालिएर ब्याटिङ गरेका आसिफ आउट

बिहीबार, वैशाख १४, २०८०

काठमाडौँ– एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत कतारविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

चौथो ओभर नसकिँदै २ विकेट गुमेपछि सम्हालिएर ब्याटिङ गरेका आसिफ शेख पनि आउट भएका छन् । 

उनी २८ बलमा १९ रन बनाउँदै आउट भएका हुन् । 

यसअघि नेपाललाई सुरुवाती २ झड्का लागेको थियो । ओपनर कुशल भुर्तेल र भीम सार्की चौथो ओभर नसकिँदै आउट भएका थिए ।

भीम १२ बलमा ६ रन बनाउँदै आउट भए । यो बेला नेपालले ३.३ ओभरमा ९ रनमात्र बनाएको थियो ।

यसअघि कुशल ८ बल खेलेर २ बलमा आउट भएका हुन् । नेपालले १.२ ओभरमै पहिलो विकेट गुमाएको थियो । यतिबेला नेपालले ३ रनमात्र बनाएको थियो ।

धर्मराएको ब्याटिङ आरिफ र कप्तान रोहित पौडेलले सम्हाल्ने प्रयास गरेका थिए । यसबीचमा नेपालले ५० रन पनि कटाएको थियो ।

१२.४ ओभरमा ५७ रन बनाउँदा आसिफ आउट भएका हुन् । अहिले सोमपाल कामी क्रिजमा आएका छन् ।

घरेलु टोली नेपालले आज टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको हो ।

समूह ए को अन्तिम खेलमा नेपालले आज कतारविरुद्ध टोलीमा एक परिवर्तन गरेको छ । त्रिवि क्रिकेट मैदान जारी खेलमा नेपालले ओमानसँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर करण केसीलाई नेपालले विश्राम दिएको छ । उनको ठाउँमा गुलशन झालाई मौका दिएको छ । 

सेमिफाइनलमा पुगिसकेको नेपाल आज कतारलाई हराउँदै अपराजितका साथ समूह विजेता बन्न चाहन्छ । तर, सुखद सुरुवात भने हुन सकेको छैन ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजबंशी ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १०:०१
प्रतिक्रिया दिनुहोस्