कतारमाथि फराकिलो जित निकाल्दै नेपाल समूह विजेता
काठमाडौँ– एसिसी प्रिमियर कप क्रिकेटको आफ्नो अन्तिम खेलमा सन्दीप लामिछानेले अलराउण्ड प्रदर्शन गरेपछि नेपालले कतारमाथि फराकिलो जित हात पारेको छ ।
सन्दीपले अविजित सर्वाधिक ४२ रन र ५ विकेट लिएपछि नेपालले कतारलाई ६८ रनले पराजित गरेको हो । सन्दीप 'प्लेयर अफ दी म्याच'समेत भए ।
समूह ‘ए’को अन्तिम खेलमा जित हात पारेपछि यसअघि नै सेमिफाइनलमा पुगेको घरेलु टोली नेपाल समूह विजेता बनेको छ ।
नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५ ओभर १ बलमा ८९ रन बनाउँदा अलआउट भयो । कतारका जहिर इब्राहिम र खुर्रम शहजादले समान १५/१५ रन बनाए । बलिङतर्फ नेपालका सन्दीपेले ५, सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ४० ओभर ३ बलमा १५७ रनमा अलआउट भएको थियो । नेपालका स्पिनर सन्दीपले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले २७ रन जोडे ।
कतारका आमिर फारुकले ४ र ओइस अहमदले ३ विकेट लिए ।
नेपाल ४ खेलमा ७ अंकसहित समूह ए विजेता बनेको हो । नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो भने तेस्रो खेलमा वर्षाका कारण अंक बाँडेको थियो ।
समूह ए बाट उपविजेता बनेकाे ओमानले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।
यस्तै, समूह ’बी’ बाट विजेता बनेको युएई सेमिफाइनल पुगिसकेको छ । अहिले भइरहेको हङकङ र कुवेतबीचको खेलको विजेता यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्काे टोली बन्नेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा समूह ’ए’ को विजेताले समूह ’बी’को उपविजेतासँग खेल्नेछ । यस्तै, दोस्रो सेमिफाइनलमा समूह ’बी’को विजेताले समूह ’ए’ को उपविजेतासँग खेल्नेछ ।
सेमिफाइनलमा नेपालले समुह बी को उपविजेता कुवेतसँग खेल्ने भएको छ । नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबार हुने छ ।
यस्तै फाइनल सोमबार हुनेछ । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।