Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुडानबाट उद्धार गरिएका थप २५० भारतीय स्वदेश आइपुगे

शुक्रबार, वैशाख १५, २०८०

मुम्बई– सुडान द्वन्द्वका कारण उद्धारको पर्खाइमा रहेका भारतीयमध्ये थप २४६ जना लाई लिएर अर्को विमान बिहीबार मुम्बईमा अवतरण गरेको छ ।

‘अर्को विमान मुम्बई आइपुगेका छ । थप २४६ जना भारतीय मातृभूमि फर्केका छन्,’ भारतीय विदेशमन्त्री एस जयशङ्करले ट्विटरमा लेखेका छन् । 

यसअघि बिहीबार नै केन्द्रीय विदेश राज्यमन्त्री भी मुरलीधरनले द्वन्द्वग्रस्त सुडानबाट उद्धार गरिएका १२८ जना भारतीय नागरिकलाई भारतीय वायु सेनाको विमान सी–१३० जे विमानबाट ‘अपरेसन कावेरी’ अन्तर्गत साउदी अरेबियाको जेद्दाह आइपुगेको बताएका थिए । 

‘अपरेसन कावेरी’को नेतृत्वमा भारतीय वायुसेनाको अर्को सी–१३० जे विमान १२८ जना भारतीयलाई लिएर जेद्दा आइपुगेको छ । जेद्दाह आइपुगेका सबै भारतीयलाई जतिसक्दो चाँडो भारत पठाउने प्रयास भइरहेको मुरलीधरनले बताए । उनले जेद्दाहमा भारतीय नागरिकहरू विमानबाट ओर्लेको भिडियो पोस्ट गरेका थिए । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्विट गर्दै भनेका छन्, ‘भारतीय वायुसेनाको चौथो सी–१३० जे विमान पोर्ट सुडानबाट १२८ यात्रु लिएर जेद्दाका लागि उडेको छ ।’

‘अपरेसन कावेरी’अन्तर्गत सुडानबाट उद्धार गरिएका भारतीयहरूको यो छैटौं समूह हो । योसँगै कूल एक हजार १०० भारतीयहरूलाई सुडानबाट फिर्ता गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्