Nic Ad Nic Ad
Nic Ad Nic Ad
हिँउदे अधिवेशन अन्त्य

एउटै विधेयक पास नगरी सकियो संसदको हिउँदे अधिवेशन, दोष कसको ?

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौँ- कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि संसदको पहिलो अधिवेशन अन्त्य गरे । यो अधिवेशनमा एउटै विधेयक पास नगरी सकियो ।

अन्तिम दिन १० वटा विषयगत समिति गठन गरेर बैठक सकियो ।

सभामुख देवराज घिमिरेले एमालेका सांसद लक्ष्मी महतो कोइरी बिरामी भएर संसदमा अनुपस्थित भएको प्रस्ताव पेस गरेपछि अधिवेशनको अन्तिम बैठकमा हंगमा समेत भयो ।

पहिलो अधिवेशन प्रभाकारी नभएको स्वयं सांसदहरू बताउँछन् । तर, प्रभावकारी नहुनुमा सत्तापक्ष र प्रतिपक्षीले एक अर्कालाई दोष देखाएका छन् । 

‘उपलब्धि हुन नसक्नुमा सरकार जिम्मेवार छ । राष्ट्रियसभाबाट विधेयक आएको छ । समितिमा विधेयक पठाउनुपर्ने हो, तर समिति आज गठन भएको छ,’ एमाले संसाद रघुजी पन्तले भने ।

संसद प्रभावकारी नहुनुमा प्रतिपक्षी दल एमाले दोषी रहेको कांग्रेस र माओवादी केन्द्रका सांसदहरू बताउँछन् । ‘एमालेले हलो अड्काएर गोरु चुट्ने काम गर्‍यो । ६२ दिन सरकारमा रहेको एमालेले त्यो समयको जिम्मेवारी लिनुपर्छ । टीआरसी र संवैधानिक परिषद्सम्बन्धी विधेयक अगाडि बढाउन दिएन । न्यायलयलाई अन्ययमा पार्ने काम गरियो,’ कांग्रेस सांसद रामहरी खतिवडाले भने ।

पहिलो अधिवेसनमा जनताको एजेन्डा उठाउन संसद सफल भएको तर्क गर्छन् माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल । ‘जनताको सरोकारका विषय उठाउन सफल भएको छ । महत्त्वपूर्ण ऐनहरू टुंगो लागेको छैन,’ उनले भने, ‘अब आगामी अधिवेशनबाट टुंगो लागाउनुपर्छ ।’

जसपाका सांसद प्रदीप यादव भने अधिवेशन आंशिक रूपमा सफल भएको बताउँछन् । ‘विधेयकहरू ओझेलमा पर्‍यो । संवैधानिक परिषद्सम्बन्धी विधेयक नआउँदा प्रधानन्यायाधीश नियुक्त हुन सकेन । यो अधिवेशन आंशिक सफल भएको छ,’ उनले भने ।

अधिवेशनमा ढ्यापढ्यापे (आकस्मिक), शून्य र विशेष समयमा सांसदले समय बिताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्