Nic Ad Nic Ad
Nic Ad Nic Ad

कीर्तिमानी दोस्रो स्कोर बनाएको लखनाऊले पञ्जाबलाई फराकिलो अन्तरले हरायो 

शनिबार, वैशाख १६, २०८०

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आइपिएल)मा कीर्तिमानी स्कोर बनाएको लखनऊ सुपर जायन्ट्सले पन्जाब किंग्सलाई फराकिलो जित निकालेको छ ।

गएराति भएको खेलमा लखनाऊले घरेलु टोली पञ्जाबमाथि ५६ रनको फराकिलो जित निकालेको हो ।

यस क्रममा लखनाऊले प्रतियोगिताकै इतिहासमा दोस्रो ठूलो कीर्तिमानी स्कोर खडा गरेको छ ।

लखनऊले ५ विकेटको क्षतिमा २५७ रन बनाएको हो । कुनै पनि टिमले २५० रनमाथिको स्कोर बनाएको यो दोस्रो पल्ट मात्र हो ।

अस्ट्रेलियाका मार्कस स्टोइनसको ४० बलमा ७० रन तथा वेस्ट इन्डिजका केली मायर्सको २४ बलमा ५४ रनको मद्दतले लखनाऊले ठूलो स्कोर खडा गरेको हो ।

यसअघि प्रतियोगिताकै सबैभन्दा ठूलो स्कोर २६३ रन रहेको छ । यो सन् २०१३ मा रोयल च्यालेन्जर्स बेंगलोरले पुने वारियर्सविरुद्ध बनाएको थियो ।

जवाफी ब्याटिङमा आएको पञ्जाबले १९.५ ओभरमा अलआउट हुँदै २०१ रन बनायो । 

लखनाऊका स्टोइनसले एक विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका उनी ‘प्लेयर अफ द म्याच’ भए ।

आठ खेलमा १० अंक जोडेको लखनाऊ लिगको दोस्रो स्थानमा छ । पराजित पञ्जाब छैटौँ स्थानमा छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  ०८:१५
प्रतिक्रिया दिनुहोस्