नेपाल र कुवेतबीचको खेल ४२ ओभरमा घटाएर सुरु
काठमाडौँ – वर्षाका कारण रोकिएको एसिसी प्रिमियर लिगअन्तर्गत नेपाल र कुवेतबीचको जारी सेमिफाइनल खेल फेरि सुरु भएको छ ।
खेल ४२–४२ ओभरमा छोट्याएर सुरु भएको हो ।
२३.२ ओभरमा नेपालले ३ विकेट गुमाएर १४१ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो ।
एक घण्टाभन्दा बढी समय वर्षाका कारण खेल रोकिएपछि खेल ४५ ओभरमा छोट्याइएको थियो ।
तर १२ः १५ मा सुरु हुने खेल पुनः वर्षा भएपछि फेरि रोकिएको थियो । वर्षा रोकिएपछि १ बजे खेल पुनः सुरु भएको छ ।
नेपाल आज कुवेतलाई हराउँदै फाइनलमा पुग्ने लक्ष्यमा छ । समूह ‘ए’को विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो । नेपालले ४ खेलमा ३ मा जित निकालेको थियो । साउदी अरेबियाविरुद्धको खेल पानी परेका कारण अनिर्णीत हुँदा नेपालले १ अंक पाएको थियो । नेपाल ७ अंकका साथ सेमिफाइनलमा पुगेको हो । अर्कोतिर कुवेत समूह बीको उपविजेताको रूपमा सेमिफाइनलमा पुगेको हो ।
यसैगरी, आजै अर्को सेमिफाइनल खेल पनि भइरहेको छ । मुलपानी मैदानमा भइरहेको अर्को सेमिफाइनल खेलमा समूह ‘ए’को उपविजेता ओमान र समूह ‘बी’को विजेता युएईबीच प्रतिस्पर्धा हुँदैछ ।
जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानजस्ता ठूला टोलीसँग खेल्नेछन् ।