नेभिगेशन
खेलकुद

नेपालले दियो कुवेतलाई २८२ रनको विशाल लक्ष्य

काठमाडौँ– एसिसी प्रिमियर लिगको सेमिफाइनलअन्तर्गत जारी खेलमा नेपालले कुवेतलाई २८२ रनको विशाल लक्ष्य दिएको छ ।

वर्षाको कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले पूरै ओभर खेल्दै ९ विकेट गुमाएर २८१ रन बनाएको छ । 

नेपालका कप्तान रोहित पौडैल शतक बनाउनबाट ६ रनले चुकेका छन् ।

९४ रन बनाएपछि छक्का प्रहार गर्दै शतक बनाउने प्रयास गर्दा उनी क्याच आउट भएका थिए । उनले ९५ बल खेलेका थिए ।

यसअघि रोहितले ५६ बलमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका थिए ।

यस्तै कुशल मल्लले ४२ बलमा ५१ रन बनाउँदै अर्धशतक बनाएका थिए । उनी पछि ४४ बलमा ५७ रन बनाएर आउट भए ।

यसैगरी ओपनर कुशल भुर्तेलले ३९ बलमा ४३ तथा अर्का ओपनर आसिफल शेखले २८ बलमा ३१ रन बनाए । 

त्यस्तै आरिफ शेखले १९ बलमा १९ रन बनाउँदा सोमपाल कामीले अविजित ११ बलमा १३ रन जोडेका थिए । 

त्यसैगरी करण केसीले ६ बलमा ७, सन्दीप लामिछानेले ४ बलमा ५, ललित राजबंशीले १ बलमा अविजित २ तथा भीम सार्कीले ४ बलमा १ रन बनाए ।

दीपेन्द्रसिंह ऐरी भने शून्य रनमा आउट भए ।  

२३.२ ओभरमा नेपालले ३ विकेट गुमाएर १४१ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । 

एक घण्टाभन्दा बढी समय वर्षाका कारण खेल रोकिएपछि खेल ४५ ओभरमा छोट्याइएको थियो ।

तर १२ः १५ मा सुरु हुने खेल पुनः वर्षा भएपछि फेरि रोकिएको थियो । वर्षा रोकिएपछि १ बजे खेल पुनः सुरु भएको थियो ।

यसैबीच, कुवेतले ब्याटिङ सुरु गरेको छ । 
 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद