स्पेनिस ला लिगा : बार्सिलोनालाई ११ अंकको अग्रता
काठमाडौं–स्पेनिस ला लिगामा बार्सिलोनाले उपाधि दाबेदारी बलियो बनाउँदै गएको छ ।
युवा खेलाडी लेमिन यमलले डेब्यु गर्दै कीर्तिमान बनाएको खेलमा शीर्ष स्थानको बार्सिलोनाले रियाल बेटिसलाई ४–० गोलले हराएको छ । यो जितपछि बार्साले ११ अंकको स्पष्ट अग्रता बनाएको छ ।
खेलको पहिलो हाफमै बार्साले ३ गोलको अग्रता बनाएको थियो । एन्द्रियस क्रिस्टेनसेनले १४ औँ मिनेटमा गोल गरे । ३३ औँ मिनेटमा पाहुना टोली बेटिस १० खेलाडीमा झ¥यो । इडगार गोन्जोलेजले लुइज फिलिपलाई खराब ट्याकल गरेर घाइते बनाएपछि सोझै रातो कार्ड पाउँदै मैदान बाहिरिए । त्यसको ३ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्साको अग्रता दोब्बर बनाए ।
३९ औँ मिनेटमा राफिन्हाले गोल गरेपछि बार्सा ३–० गोलले अघि रह्यो । ८२ औँ मिनेटमा गुइडो रोद्रिगोजले आफ्नै पोष्टमा गोल गरेपछि बार्साको ४–० गोलको जित सुनिश्चित भएको थियो ।
८४ औँ मिनेटमा बार्सा एकेडेमीका युवा खेलाडी यमल गाभीको स्थानमा मैदान प्रवेश गर्दै सानो उमेरमा ला लिगामा डेब्यु गर्ने कीर्तिमान बनाए । उनी मात्र १५ वर्ष २ सय ९० दिनको उमेरका हुन् । साथै उनी स्पेनिस लिगमा कम उमेरमा डेब्यु गर्ने पाँचौँ युवा खेलाडीसमेत बनेका छन् ।
यो जितपछि बार्साको ३२ खेलबाट ७९ अंक भएको छ । बेटिसको समान खेलबाट ४९ अंक छ । यस्तै करिम बेन्जेमाको ह्याट्रिकमा साविक विजेता रियाल मड्रिडले अल्मरियालाई ४–२ गोलले हराएको छ । ब्रनाबेउमा भएको खेलमा बेन्जेमाले पाचौँ, १७ औँ र ४२ औँ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका हुन् । इन्जुरी सयमा र्माक्युसले गोल फर्काए। दोस्रो हाफको तेस्रो मिनेटमा रोद्रिगोले गोल गरे । ६१ औँ मिनेटमा रोबर्टनले एक गोल फर्काएका थिए । यो जितपछि रियालको ६८ अंक भएको छ ।