Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिद्धार्थ राजमार्ग अब राति मात्र बन्द हुने

आइतबार, वैशाख १७, २०८०

बुटवल–सुरुङमार्ग निर्माणको पूर्व तयारीका काम गर्न दिउँसो र राति गरी दैनिक ९ घण्टा बन्द हुँदै आएको सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्ड अब रातिमा मात्र बन्द हुने भएको छ ।

राजमार्ग सुरक्षा समितिको बैठकको निर्णय अनुसार गत चैत २१ गतेबाट दिउँसो ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म दिनहुँ बन्द हुँदै आएको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड अब राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्र बन्द हुने भएको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म सडकखण्ड बन्द हुने जानकारी दिए । निर्माण व्यवसायीले तदारुकताका साथ काम नगरेपछि सर्वसाधारणले दिउँसोमा सडक बन्द नगर्न माग गरेपछि रातिको ६ घन्टा मात्र बन्द गराइएको उनले बताए  ।

सुरुङमार्ग निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले राजमार्गमा आवागमन बन्द गर्न माग गरे पनि काममा भने तीव्रता नदिएको भन्दै यात्रुले विरोध गर्दै आएका थिए । पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सादेखि बुटवलसम्म खानेपानीको पाइप गाड्ने र नाली बनाउने कामका कारणसमेत यात्रुले सास्ती पाउने गरेका थिए ।

दोभान बजार नजिकै रामापिथेकस पार्क नजिकबाट सडक डाइभर्सनको काम गत फागुन दोस्रो हप्तादेखि भइरहेको छ । सडकदेखि माथिल्लो भागमा रहेका खुकुला ढुंगाहरु खस्दा दुर्घटनाको जोखिम हुने भएकाले राजमार्गको दोभानदेखि तल्लो सिद्धबाबासम्म सवारी साधन आवागमन बन्द गरेर काम गर्ने वातावरण बनाइएको हो ।

यसअघि पनि फागुन १३ देखि २७ गतेसम्म दैनिक आठ घन्टा सडक बन्द गरेर सुरुङमार्गको पूर्वतयारीका काम शुरु भएको थियो । तिनाउ गाउँपालिका–३, रामापिथेकसपार्कदेखि पाल्पाको सिद्धबाबा मन्दिरसम्म १ हजार १२६ मिटर सुरुङ निर्माण हुनेछ ।

सुरुङमार्ग सहित उक्त क्षेत्रको सडक सुरक्षित बनाउन रकनेट, रकसेड लगायत सडक स्तरोन्नतिका लागि ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । सुरुङ मार्गको विस्तृत परियोजना प्रस्तावको अन्तिम डिजाइन स्वीकृत हुने क्रममा रहेको छ ।

चार वर्षमा काम सक्ने गरी ठेक्का सम्झौता भएकाले विस्तृत परियोजना प्रतिवेदन स्वीकृत हुनासाथ सुरुङ मार्ग निर्माणको कामले गति लिने सुरुङ मार्ग निर्माण आयोजना बुटवलका प्रमुख होमबहादुर एसीले बताए ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्