सुख्खा पहिरोले अरुण तेस्रोको डाइभर्सन टनेल पुरियो
संखुवासभा–संखुवासभामा निर्माणाधीन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । आइतबार बिहान मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुख्खा पहिरो खसेपछि डाइभर्सन टनेल थुनिएर ताल बनेको छ ।
अहिले आयोजनाको ड्यामसाइडको अस्थायी बाँधमा पानी भरिएको छ । टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको छ । पहिरोले अरुण थुनिएपछि २ किलोमिटर माथिसम्म ताल बनेको छ ।
टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी बन्द भएको हो । अरुण नदीलाई वहाव परिवर्तन गरी चार सय २९ मिटर लामो डाइर्भसन टनेल मार्फत अरुण नदी मोडिएको थियो । आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निमार्ण गरी डाइभर्सन टनेलमार्फत नदी बग्दै आएको थियो । टनेल बन्द भएपछि करिब ७० फुट अग्लो बाँधमा पानी जम्मा भएको छ । पक्की बाँध भएकाले तत्काल बाँध नफुटे पनि लामो समय सम्म पानी जम्मा भएमा खतरा हुने देखिन्छ ।
सुख्खा पहिरो खसिरहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने देखिएको छ ।