विद्युत् प्राधिकरणका कर्मचारीको चुनाव २८ वैशाखमा
काठमाडौं–देशकै सबैभन्दा ठुलो सार्वजनिक संस्थान नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई यति बेला चुनाव लागेको छ ।
आधिकारिक ट्रेड युनियन चयनका लागि हुन लागेको निर्वाचनका लागि संस्थानमा क्रियाशील ट्रेड युनियन नेतृत्व लिनका लागि प्रचारप्रसारमा केन्द्रित छन् ।
वैशाख २८ गते हुने निर्वाचनका लागि चार वटा ट्रेड युनियनका अगुवा प्राधिकरणको देशभर रहेका कार्यालय पुगी मत माग्न लागिपरेका छन् । प्राधिकरणमा क्रियाशील ट्रेड युनियनमध्येबाट आधिकारिता प्राप्त गरेपछि दुई वर्षका लागि निर्वाचन हुन लागेको हो ।
प्राधिकरणको आधिकारिक ट्रेड युनियन निर्वाचन–२०८० निर्वाचनका लागि देशभरका आठ हजार पाँच सय बढी कर्मचारीले मतदान गर्नेछन् । जनताको आवश्यकता पूरा गर्न तथा रोजगारी सिर्जना गर्न र देशको आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको प्राधिकरणको गतिविधिलाई थप प्रभावकारी तुल्याउनका लागि आधिकारिक ट्रेड युनियनको निर्वाचन हुँदै आएको छ । शतप्रतिशत नेपाल सरकारको स्वामित्व रहेको प्राधिकरणले हरेक नागरिकको घरमा उज्यालो मात्रै पु¥याएको छैन, देशको समृद्धिमा योगदानसमेत गर्दै आएको छ ।
राष्ट्रिय कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष माधव अधिकारीले संस्थाको गर्विलो इतिहासलाई अझ उजिल्याउने कार्यमा योगदान पु¥याउने उद्देश्यका साथ आफूहरु निर्वाचनमा होमिएको बताए ।
आधिकारिक ट्रेड युनियनको निर्वाचन २०७६ सालमा भएको थियो । त्यो बेलाको निर्वाचन राष्ट्रिय कर्मचारी युनियनले जितेको थियो । प्रत्येक दुई वर्षमा हुनुपर्ने निर्वाचन कोभिड–१९ महामारी र आम निर्वाचनका कारणपछि सरेको थियो। निर्वाचित ट्रेड युनियनको प्रतिनिधि प्राधिकरणको सर्वोच्च कार्यकारी निकाय सञ्चालक समितिमा आमन्त्रित सदस्यका रुपमा रहन पाउने कानुनी व्यवस्था छ ।
राष्ट्रिय कर्मचारी युनियनले आधिकारिता प्राप्त गरेसँगै कर्मचारीको सेवा सुविधा बृद्धि गर्नेमात्र नभइ संस्थाको समृद्धिको योजना पेश गर्ने र आम ग्राहकहरूले पनि गुणस्तरीय सेवा सुनिश्चितताका लागि काम गरेको वरिष्ठ उपाध्यक्ष अधिकारीले बताए ।