प्रधानमन्त्री प्रचण्डको दाबी– सरकार ५ वर्ष टिक्छ
चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन् ।
प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा सरकारमा सहभागी हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले भने, ‘रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन ।
सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ ।’ रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वभाविक नभएको जनाउँदै उनले यसैमा उनीअडिन्छन् भन्ने आफूलाई नलागेको बताए ।
सत्तासाझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री प्रचण्डले बताए । रास्वपालाई अहिलेनै मन्त्रालय छाड्ने विषयमा आफूहरु नपुगेको उनले स्पष्ट पारे ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘रास्वपका अध्यक्ष रविजीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन ।’