मिटरब्याजी पीडितहरू माग जायज : भट्टराई
काठमाडौं–पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजी पीडितहरूले अघि सारेका मागका विषयमा सरकारसँग छलफल गर्ने बताएका छन् ।
सोमबार काठमाडौंको शान्तिबाटिकामा मिटरब्याजी पीडितसँग कुराकानी गर्दै भट्टराईले उनीहरूले अघि सारेका मागहरू जायज भएकाले यस विषयमा सरकारसँग छलफल गर्ने बताइ ।
बाध्यतामा परि ऋण लिएका किसानहरूको घरखेत नै बेच्नुपर्ने गरी सुदखोरले असुली गर्ने काम सदाका लागि बन्द हुनुपर्ने उनले बताए ।
भट्टराईले मिटरब्याजी सम्बन्धी सरकारले गठन गरेको आयोगको कार्यदेशलाई बलियो बनाउनुपर्ने मिटरब्याजी पीडितको माग जायज भएको धारणा राखे । जाली तमसुकका कारण मुद्दा खेप्न बाध्य भएकाले अहिलेलाई मुद्दाहरू स्थगित गराउँदै जाली तमसुक आयोगलाई बुझाउने र जाँचबुझ गरेर मात्रै हल गर्ने विषयमा सरकारसँग कुरा गर्ने उनले बताए ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष विभिन्न ६ बुँदे माग राख्दै आएको छ । चक्रवृति तथा मिटर व्याजीलाई कारवाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगायत माग राख्दै पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । यसअघि सरकारसँग भएको वार्ता असफल भएपछि मिटरब्याजी पीडितहरू शान्तिबाटिकामा बस्दै आएका छन् ।