Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपतिले उपचार खर्च आफै व्यहोर्नु पर्छ : गगन थापा

सोमबार, वैशाख १८, २०८०

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेललाई उपचार खर्च आफैँले व्यहोर्नुपर्ने सुझाव दिएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार गरेको कार्यक्रममा बोल्दै थापाले भारतमा भएको राष्ट्रपति पौडेलको उपचारको खर्च उनले आफै व्यहोर्नुपर्ने बताएका हुन् ।

राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभई आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने महामन्त्री थापको भनाइ छ । राष्ट्रपति पौडेललाई उपचार खर्च आफैँ व्यहोर्छु भनेर सार्वजनिक गर्न आग्रह समेत थापाले गरे । महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरूले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुन नहुने उल्लेख गरे ।

‘यो गणतन्त्र हो, त्यसैले राष्ट्रपति बिरामी हुँदा उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट व्यहोर्नुपर्छ । म बेहोर्छु भनेर राष्ट्रपतिले सार्वजनिक गर्नुपर्छ’, थापाले भने ।

महामन्त्री थापाले कांग्रेसले विगतमा निर्वाचन अगाडी अन्य दलसँग गरेको गठबन्धनप्रति गल्ती महशुस गर्नुपर्ने बताए । उनले आगामी दिनमा पार्टीले कुनै पनि दलसँग कहिल्यै पनि गठबन्धन गर्नु नहुने उल्लेख गरे ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्