पुल भासिएपछि पृथ्वी राजमार्ग अवरुद्घ
काठमाडौं–धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल भासिदा पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्घ भएको छ ।
दिउँसो वर्षा भएपछि पुलको धुनीबेँसी पट्टिको भाग भासिएको थियो । दिउँसो केही समय एकातर्फी भएको सवारी आवागमन दिउँसो ४ बजेदेखि पूरै सडक भासिएर आवागमन नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
भासिएको पुलसँगै सडक आयोजनाले नयाँ पुल निर्माणको काम थालेको थियो । नयाँ पुल निर्माणका लागि पुल छेउमा केही समयदेखि खनिएको थियो । राजमार्ग अवरुद्ध भएपछि साना सवारी साधनलाई कच्ची सडक प्रयोग गरी आवागमन गरिएको छ । ठूला सवारी साधनका लागि सडक मर्मत गरेर मात्र आवागमन सञ्चालन गर्न सकिने भएकाले केही समय लाग्ने जैसवारले बताए ।
सहजताअनुसार हेटौँडा–काठमाडौँ र काठमाडौं–नुवाकोट–गल्छीको बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।