Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल भर्सेस युएई : रोकिएकै ठाउँबाट आज खेल हुँदै

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं– लगातारको वर्षाले एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको सोमबार अबरुद्ध भएको फाइनल खेल आज हुने भएको छ ।

सोमबार खेल जहाँबाट रोकिएको थियो आज त्यहीँबाट सुचारु हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

पहिलो इनिङ्सको २७ दशमलव ३ ओभर खेलेपछि खेल वर्षाको कारण खेल अबरुद्ध भएको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार घरेलु टोली नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो ।

वर्षा नरोकिएपछि खेल पुनः सुचारु हुन सकेन । सोमबारको खेल पूरा हुन नसकेपछि बाँकी खेल आज बिहान ९ बजेदेखि हुनेछ ।

क्रिकेटको नियमअनुसार खेल अबरुद्ध भएमा र सुपर ओभर पनि खेल्ने अवस्था नरहेमा रिजर्भ डे अर्थात आजसम्मका लागि खेल स्थगित भएकोहो । 

आज पुनः सोमबारकै अवस्थाबाट खेल सुरु हुनेछ । अर्थात्, २७ दशमलव ३ ओभरबाट खेल सुरु हुनेछ । बलिङमा नेपालको तर्फबाट ललित राजवंशी आउने छन् भने ब्याटिङमा युएईका अन्तिम जोडी कार्तिक मियाप्पन र जुनैद सिद्दकी क्रिजमा आउने छन् ।

आजको खेल पनि वर्षाले अवरूद्ध भए ओभर घटाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ । सुपर ओभर पनि सम्भव नभएमा वरीयताका आधारमा च्याम्पियनको टुंगो लाग्नेछ । नेपाल ओडिआई वरीयतामा १४ औं र युएई १९ औं स्थानमा छन् । यसलाई आधार मान्दा नेपाल स्वतः प्रतियोगिताको च्याम्पियन बन्दै पहिलोपटक एसिया कपमा छनोट हुनेछ ।

नेपालले एसिया कपमा भारत र पाकिस्तानसहितका ठूला टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ०६:१८
प्रतिक्रिया दिनुहोस्