ह्याट्रिकको संघारमा ललित
काठमाडौँ– लगातारको वर्षाले एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको सोमबार अबरुद्ध भएको फाइनल खेल आज हुने भएको छ ।
युएईले खेल रोकिनुअघि २७.३ ओभर खेल्दै ९ विकेट गुमाएर १०६ रन बनाएको थियो ।
२८ औँ ओभरमा नेपालका ललित राजवंशीले लगातार २ विकेट लिएका थिए । उनी ह्याट्रिकको संघारमा हुँदा पानी परेर खेल रोकिएको थियो ।
ललितले उक्त ओभरको दोस्रो बलमा आसिफ खान र तेस्रो बलमा जहुर खानलाई लगातार आउट गरेका थिए ।
आज पुनः सोमबार रोकिएको ठाउँबाट ललितले बलिङ गर्नेछन् ।
यदि, उनले पहिलो बलमै विकेट लिए ह्याट्रिक हुनेछ ।
सोमबार पहिलो इनिङ्सको २७ दशमलव ३ ओभर खेलेपछि खेल वर्षाको कारण खेल अबरुद्ध भएको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार घरेलु टोली नेपालले टस जितेर फिल्डिङ रोजेपछि युएईले पहिले ब्याटिङ गरेको थियो ।
वर्षा नरोकिएपछि खेल सोमबार पुनः सुचारु हुन सकेन । सोमबारको खेल पूरा हुन नसकेपछि बाँकी खेल आज बिहान ९ बजेपछि हुने भएको हो ।
सोमबार ललितले ३, सन्दीप लामिछाने र करण केसीले २–२ तथा सोमपाल कामी र गुल्शन झाले १–१ विकेट लिएका थिए ।