नेभिगेशन
खेलकुद

युएईले नेपाललाई दियो ११८ रनको झिनो लक्ष्य

काठमाडौँ– एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा युएईले नेपाललाई ११८ रनको झिनो लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको युएईले ३३.१ ओभरमै सबै विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो ।

नेपाली बलरसामु युएईका ब्याटर सुरुवातीदेखि नै निरीह बनेपछि उ झिनो योगफलमा समेटिएको हो । 

ललित राजबंशीले जुनैद सिद्धिकीको विकेट लिएपछि युएई अलआउट भयाे ।

लगातारको वर्षाले नेपाल र युएईबीचको सोमबार अबरुद्ध भएको फाइनल खेल अहिले भइरहेको हो ।

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे सुरु भएको हो ।

युएईले खेल रोकिनुअघि सोमबार २७.३ ओभर खेल्दै ९ विकेट गुमाएर १०६ रन बनाएको थियो । 

२८ औँ ओभरमा नेपालका ललित राजवंशीले लगातार २ विकेट लिएका थिए । उनी ह्याट्रिकको संघारमा हुँदा पानी परेर खेल रोकिएको थियो ।

ललितले उक्त ओभरको दोस्रो बलमा आसिफ खान र तेस्रो बलमा जहुर खानलाई लगातार आउट गरेका थिए । 

आज पुनः सोमबार रोकिएको ठाउँबाट ललितले बलिङ गरे । तर, उनले ह्याट्रिक गर्न भने सकेनन् ।

सोमबार ललितले ३, सन्दीप लामिछाने र करण केसीले २–२ तथा सोमपाल कामी र गुल्शन झाले १–१ विकेट लिएका थिए । ललितले आज थप १ विकेट आफ्नो नाममा लेखाएका छन् ।

नेपाल आजको खेल जिते एसिया कप पहिलोपटक छनोट हुनेछ । जहाँ भारत र पाकिस्तानसहितका ठूला टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

केहीबेरपछि नेपालले जवाफी ब्याटिङ गर्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद