संसदीय समितिहरूको बैठक बोलाउने तयारी
काठमाडौं–प्रतिनिधिसभाको विषयगत समितिहरूको बैठक बोलाइने भएको छ । प्रतिनिधिसभाको १० वटा समितिहरूको गठन भएपछि संघीय संसद् सचिवालयले समितिहरूको पहिलो बैठक बोलाउने तयारी गरेको हो ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले १० वटा विषयगत समिति गठन गरेको थियो । संघीय संसद् सचिवालयले समितिको पहिलो बैठक बोलाएर समिति सभापति चयनको प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संसद् सचिवालयले समितिको बैठक बोलाउने प्रक्रिया प्रारम्भ भइसकेको बताए । उनले संसद् सचिवालयले समिति गठन भएको जानकारी सम्बन्धित समिति सचिवालयलाई गराइसकेको जानकारी दिए ।
‘समितिहरू आफ्नो बैठक बस्न पूर्वतयारीको चरणमा छन् । सचिवालयले समिति सचिवालयलाई समिति गठन भएको जानकारी गराइसकेको छ । सभापतिको निर्वाचनको सम्बन्धमा नियमावलीको व्यवस्थाअनुसार सभामुखले तोकेको दिनमा सभापतिको निर्वाचन हुने र सो को सूचना सचिवले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्नेभन्ने व्यवस्था छ’, उनले भने ।
पहिलो बैठकअघि सभामुखले संसदीय दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गर्ने संघीय संसद सचिवालयका प्रवक्ता गिरीले बताए । समिति सचिवालयले पनि समितिको ज्येष्ठ सदस्यसँग समन्वय गरेर मिति तय गरी पहिलो बैठक बोलाइने उनले जानकारी दिए । प्रवक्ता गिरीले सबै समितिहरूको पहिलो बैठक एकैपटक बस्नसक्ने बताए ।
प्रवक्ता गिरीले सभामुखले तोकेको दिनमा समिति सभापतिको निर्वाचन हुने र सो को सूचना प्रतिनिधिसभाका सचिवले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्ने नियमावलीमा व्यवस्था रहेको बताए ।
प्रतिनिधिसभामा दशवटा विषयगत समिति छन् । यसका साथै प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरू रहने गरी दुईवटा विषयगत समिति पनि छन् । प्रतिनिधिसभाको वैशाख १५ गतेको बैठकले समितिमा रहने सदस्यहरूको नाम सर्वसम्मतीले अनुमोदन गरेको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य रहेका तथा मन्त्रिपरिषद् सदस्य भएकाहरू सबै समितिमा उत्तरदायी भूमिकामा रहने भएकोले विषयगत समितिहरूा सदस्य तोकिने व्यवस्था छैन ।