नेपाललाई एसिया कपमा पुर्याउन कुन खेलाडीले कस्तो खेले ?
काठमाडौँ– नेपाललाई एसिया कप क्रिकेटमा छनोट गराउन युएईविरुद्धको फाइनल खेलमा मुख्यतः बलरहरूले उत्कृष्ट प्रदर्शन गरे ।
यस्तै ब्याटरको रुपमा गुल्शन झा र भीम सार्कीले निर्णायक भूमिका खेले ।
युएईले दिएको ११७ रनको झिनो लक्ष्य पछ्याएको नेपालले सुखद सुरुवात भने गर्न सकेन । ७.६ ओभरमा मात्र २२ रन बनाउँदा नेपालले तेस्रो विकेट गुमाएको थियो । यस्तो अवस्थामा क्रिजमा आएका गुल्शनले अर्धशतकीय पारी खेले ।
उनले ८४ बलमा अविजित ६७ रन बनाएर नेपालको जित सुनिश्चित गराए । यो क्रममा उनले ६ छक्का र ३ चौका प्रहार गरे । गुल्शन फाइनलका उत्कृष्ट खेलाडीसमेत छानिए ।
यस्तै, उनलाई भीम सार्कीले राम्रो साथ दिए । उनले ७२ बलमा अविजित ३६ रन बनाए ।
यसअघि नेपालका ओपनर कुशल भुर्तेल १.१ ओभरमै आउट भएका थिए । उनले ८ बल खेल्दै १ रन मात्र जोडेर आउट भएका हुन् ।
अर्का ओपनर आसिफ शेख पनि १० बलमा ८ रन बनाउँदै आउट भए । नेपालले ६.१ ओभरमा दोस्रो विकेट गुमाउँदा १९ रन मात्र बनाएको थियो ।
नेपालले तेस्रो विकेट गुमाउँदा २२ रन मात्र बनाएको थियो । कप्तान रोहित पौडेल ९ बलमा मात्र १ रन बनाएर आउट भएका हुन् ।
त्यसपछि धर्मराएको ब्याटिङ सम्हाल्न आएका गुल्शन र भीमले पारी सम्हाल्दै नेपाललाई सहज जित निकालेका हुन् ।
टस हारेर पहिले ब्याटिङ गरेको युएईले ३३.१ ओभरमै सबै विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो । नेपालले ११८ रनको झिनो लक्ष्य पछ्याएको थियो ।
लगातारको वर्षाले सोमबार नेपाल र युएईबीचको सोमबार अबरुद्ध भएको फाइनल खेल भएको हो । रोकिनुअघि सोमबार युएईले २७.३ ओभर खेल्दै ९ विकेट गुमाएर १०६ रन बनाएको थियो ।
आज ९ बजे पुनः खेल सुरु भएको थियो । ललित राजबंशीले जुनैद सिद्धिकीको विकेट लिएपछि युएई अलआउट भएको चयो ।
सोमबार २८ औँ ओभरमा नेपालका ललित राजवंशीले लगातार २ विकेट लिएका थिएका थिए । उनी ह्याट्रिकको संघारमा हुँदा पानी परेर खेल रोकिएको थियो ।
ललितले उक्त ओभरको दोस्रो बलमा आसिफ खान र तेस्रो बलमा जहुर खानलाई लगातार आउट गरेका थिए ।
आज पुनः सोमबार रोकिएको ठाउँबाट ललितले बलिङ गरे । तर, उनले ह्याट्रिक गर्न भने सकेनन् ।
सोमबार ललितले ३, सन्दीप लामिछाने र करण केसीले २–२ तथा सोमपाल कामी र गुल्शन झाले १–१ विकेट लिएका थिए । ललितले आज थप १ विकेट आफ्नो नाममा लेखाएका छन् ।
नेपालका बलर युएईका ब्याटरमाथि हाबी भएका थिए । सबैभन्दा उत्कृष्ट प्रदर्शन ललितले गरे । ७.१ ओभर बलिङ गरेका उनले २ मेडनसहित मात्र १४ रन खर्चिएर १.९५ को इकोनमीमा बलिङ गरे । यस क्रममा उनले ४ विकेट लिएका हुन् ।
त्यसपछि सन्दीपले दोस्रो किफायती बलिङ गरे । उनले १० ओभरमा २ मेडनसहित २ विकेट लिँदा ३.४० को इकोनमीमा बलिङ गरे ।
आजको खेल जितेपछि नेपाल दोस्रोपटक एसिया कप छनोट भएको छ । जहाँ भारत र पाकिस्तानसहितका ठूला टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले पहिलोपटक एसिया कप खेल्न लागेको हो । यसअघि २१ वर्ष पहिले पवन अग्रवालको कप्तानीमा नेपाल एसिया कपमा छनोट भएको थियो । तर, भारत र पाकिस्तानको द्धन्द्धका कारण प्रतियोगिता खेल्नबाट बञ्चित हुन पुग्यो ।