Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालमा ओटिटी : विदेशीमै छन् दर्शक

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं–कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटिटी (ओभर द टप)प्रतिको आकर्षण बढ्यो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्य रुपमा बढे ।

समयमा विश्व बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ले नेपाली दर्शकलाई राम्रोसँग आकर्षित गर्न सफल भए । तर विदेशी एपमा दर्शक झुमिँदा सोही प्रकृतिका नेपाली एपहरु आइफ्लिक्स, भिडियो पसल, सिनेमाघर जस्ता एपले दर्शक पाएनन् । 

नेपाल राष्ट्र बैंकले वार्षिक पाँच सय डलरसम्म खर्च गर्न मिल्नेगरी लरकार्ड उपलब्ध गराए पनि विदेशी एपमै दर्शक बढ्दै गएका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपछि बन्द नै भए । नेपालमा सन् २०१६ देखि सुरू भएको एप सिनेमा घरले सब्सक्रिप्सनको सुविधा हटाएर फिल्मअनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाएको कम्पनीका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिनुभयो । 

अभिनेता, निर्माता, लेखकसँगै चलचित्र ‘पानीफोटो’मार्फत् निर्देशक बन्नुभएका लामिछाने सिनेमाघर एपसँग सन् २०१८ मा जोडिनु भएको थियो । ‘नयाँ सामग्री आउँदा दर्शक बढ्छन्, अन्य समयमा पनि थपघट भइरहन्छ,’उहाँले भने, ‘अब भने आफ्नै कन्टेन्ट ल्याउनेमा हामी छौँ ।’ यद्यपि त्यसको सूचिगत प्रक्रिया पूरा नहुँदासम्म आँट गर्न नसकेको उनको भनाइ छ । उनका अनुसार वार्षिक पात्रो बनाएर मात्र आफ्नै ‘कन्टेन्ट’ ल्याइने छ । यसरी तयारी गर्दा कुनै एक ‘कन्टेन्ट’ असफल हुँदा अन्यले दर्शकलाई ‘होल्ड’ गर्न सकिने उनको भनाइ छ । 

आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसक्नु भएका ओमप्रकाश अग्रवालले भने पाइरेसीको समस्याले ओटिटीमा चलचित्र राख्न जोखिम रहेको बताए ।

‘पाइरेसी गर्नेलाई कडा कारबाही नभएसम्म कन्टेन्ट सुरक्षित हुँदैनन् । यससम्बन्धी साक्षरता बढाउनु आवश्य छ’, उनले भने, ‘एप ल्याएर मात्र हुँदैन त्यसलाई दर्शकसम्म पु¥याउन हामीले आवश्यकपर्ने सामग्री सञ्चित गरिरहेका छौँ ।’

उनले पाइरेसीसम्बन्धी शिक्षाको कमीले यस्तो भइरहेको बताए । उनले भने, ‘पक्राउ परेपछि ख्यालख्यालमै चलचित्र पाइरेसी गरिएको भन्ने सुनिन्छ । यससम्बन्धी चेतना फैल्याउनुपर्छ । किनकी अहिले चलचित्र भवनबाट समेत खिचिएका दृश्य सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् ।’ स्वदेशी आफ्नै सामग्री नहुँदा दर्शकको आकर्षण बढ्न सकेको छैन ।

अभिनेता अर्पण थापाले निर्माण प्रक्रियामा सानो वा ठूलो पर्दा भनेर विभेद नगर्न हुने बताए । ‘हामीले शृङ्खला तयार गरिरेका छौँ भने पनि चलचित्र झैँ मेहनत गर्नुपर्छ । शृङ्खला भनेर मेहनतमा कमि भयो भने त्यसको नतिजा राम्रो आउँदैन’, अभिनेता थापाले भने । ‘मैले भर्खरै एउटा शृङ्खलामा अभिनय गरेको छु । विस्तारै हामी कहाँ पनि ओटिटीलाई लक्षित गरी काम गर्नेछौँ ।’

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्