Nic Ad Nic Ad
Nic Ad Nic Ad

वषौँदेखिको मेहनतले यसरी पायो सार्थकता 

बुधबार, वैशाख २०, २०८०

काठमाडौँ– नेपाल र संयुक्त अरब इमिरेटस् (युएई) बीचको फाइनल प्रतिस्पर्धा । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपालका समर्थकहरूको घुइँचो । नेपालले ३० ओभरको खेल खेलिसकेको थियो । ब्याटिङ क्रिजमा थिए गुल्शन झा र भीम सार्की । 

नेपालले तीन विकेटको क्षतिमा एक सय ११ रन बनाउँदै एक सय १८ रनको लक्ष्य करिब करिब पच्छ्याइसकेको थियो । दर्शकमा गज्जबको रोमाञ्च थियो । उनीहरू सोमबारजस्तै फेरि वर्षाले खेल नबिथोलोस् भन्ने प्रार्थना गरिरहेका थिए । ३१औँ ओभरमा बलिङ गर्न आए युएईका आयान खान । पहिलो बल डट । नेपाली दर्शक दीर्घामा एक किसिमको सन्नाटा । ओभरको दोस्रो बलमा गुलशनद्वारा छक्का प्रहार र युएईसँग बराबरीको स्कोर । दर्शक दीर्घामा प्रसन्नताको लहर । पूरै मैदानमा खुसीको सञ्चार । 

ओभरको तेस्रो बलमा गुल्शनद्वारा एक रनको वृद्धि र एसिसी कपमाथि नेपालको कब्जा । मैदानमा नेपाली दर्शकको विजयोत्सव र हर्षोल्लास । सम्भवतः नेपाली क्रिकेटको अहिलसम्मकै सबैभन्दा ठूलो विजयको साक्षी बन्न पाउँदा कुन चाहिँ नेपाली खुशी नहोलान् ? त्यसमाथि मैदानमै रहेका दर्शकको खुसी र उत्साहलाई कुनै पनि शब्दमा वर्णन गर्न सकिँदैन ।    

मङ्गलबार पनि काठमाडौँ उपत्यकाको मौसम दर्शकले चाहेको जस्तो थिएन । आकाश बादलले ढाकिएको थियो । पानी एकछिनमै परिहाल्छ कि भनेजस्तो अवस्था थियो । तर दर्शकलाई मौसमको कुनै पर्वाह थिएन । उनीहरू सोमबारको जस्तै छाता बोकेरै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान ओइरिएका थिए । 

नेपालले सोमबार टस जितेर पहिला फिल्डिङ रोजेको थियो । खराब मौसमकै बीच प्रारम्भ भएको खेलमा युएईले २७ दशमलव तीन ओभर खेल्दै नौ विकेटको क्षतिमा एक सय छ रन बनाएको थियो । सोमबारको खेलबाट दर्शकसँगै नेपाली टोली पनि उत्साहित थियो । खेलको नतिजा आफ्नो पक्षमा रहनेमा उनीहरू एक किसिमले ढुक्क थिए । सोमबार बाँकी रहेको खेल आज नौ बजे पुनः सुरु भएको थियो । युएई ३३ दशमलव एक ओभरमा एक सय १७ रन बनाउँदै ‘अल आउट’ भयो । 

नेपालको ब्याटिङ पनि सुरुआतमा राम्रो रहेन । आठ ओभर खेल्दा नेपालले मात्र २२ रन बनाउँदा तीन विकेट गुमाइसकेको थियो । कुशल भुर्तेल, आशिफ सेख र कप्तान रोहितकुमार पौडेल सस्तैमा पेवेलियन फर्किएको अवस्थामा गुल्शन झा र भीम सार्कीले नेपालको पारी सम्हाले । दुवै जनाबीच ९६ रनको साझेदारी कायम हुन पुग्यो र नेपालको विजय यात्रा सुनिश्चित भयो । गल्शनले अद्र्धशतकीय पारी खेले । उनले अविजित ६७ रन बनाए । यस्तै भीमले अविजित रहँदै ३६ रनको योगदान दिए । गुल्शन खेलका नायक बने ।

अघिल्लो खेलमा बेञ्चमा सीमित गुल्शनलाई युएईविरुद्धको फाइनल खेलमा प्रशिक्षक मोन्टी देसाईले रणनीतिका साथ मैदानमा उतारेका थिए । उनले प्रशिक्षक देसाईको आफूमाथिको भरोसालाई सत्य प्रमाणित गरेर देखाइदिए । प्रायः ब्याटिङ गर्न तल्लो क्रममा पठाउने गरिए पनि मङ्गलबारको खेलमा भने गुल्शन तेस्रो नम्बरमै मैदानमा आएका थिए । गुल्शन तिनै खेलाडी हुुन्, जसले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईलाई नै हराउँदै नेपाललाई विश्वकपको छनोटका लागि पक्का गराएका थिए । प्रशिक्षक देसाईले त्यही प्रदर्शनबाट प्रभावित भएर मङ्गलबारको खेलमा पनि उनलाई स्थान दिलाएका थिए । उनलाई दरिलो साथ दिएका थिए भीमले । यही जोडीको उत्कृष्ट प्रदर्शनले नेपाल सहजै एसिया कपका लागि चुनियो । 
  
युएईलाई सात विकेटले हराउँदै नेपालले उपाधिमाथि कब्जामात्र जमाएन,  बरु दोस्रो पटक एसिया कपका लागि छनोट हुन पनि सफल भयो । जितसँगै नेपाल सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एसिया कपमा छनोट भएको छ । अब नेपालले भारत र पाकिस्तानजस्ता क्रिकेटका अब्बल देशसित खेल्ने मौका पाउने निश्चित भएको छ । सन् २००२ मा पनि नेपालले एसिया कपमा स्थान बनाएको थियो । तर, त्यतिबेला भारत र पाकिस्तानबीचको तनावका कारण प्रतियोगिता आयोजना हुन सकेको थिएन । 

‘भारत र पाकिस्तानसित खेल्ने सपना पूरा भएको छ,’ उपाधि जितेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितले भने, ‘वषौँदेखिको मेहनतले बल्ल सार्थकता पाएको छ । हामीले खेलेअनुसारकै परिणाम आयो । विगतमा भारत र पाकिस्तानको खेल हेर्दै आयौँ, अब उनीहरूसित खेल्छौँ ।’ 

नेपाली क्रिकेटले उल्लेख्य प्रगति गर्नुमा दर्शकको ढाडसलाई पनि महत्त्वपूर्ण मानिन्छ । क्रिकेटमा धेरै प्रगति गरेका कतिपय देशमा खेलाडीले दर्शकबिना नै खेलिरहेका हुन्छन् । तर नेपालमा भने खेलाडीलाई सबैभन्दा ठूलो साथ दर्शकको रहेको छ । नेपाली क्रिकेट टोलीले तिनै दर्शकले प्रदान गर्ने हौसला विपक्षी टोलीमाथि विजय प्राप्त गर्ने ठूलो हतियार मान्ने गरेको छ । एसिसी मेन्स प्रिमियर कपका सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछाने भन्छन्, ‘झरीमा रुझेर पनि दर्शकले हामीलाई अन्तिम समयसम्म साथ दिनुभयो, खेलाडीलाई प्राप्त यही हौसलाले हामीलाई सफलता मिलिरहेको छ ।’ 

एसिया कपका लागि छनोट हुनुअघि नेपाल विश्वकप क्रिकेटको छनोट प्रतियोगिताका लागि स्थान बनाउन सफल भएको थियो । उक्त प्रतियोगिता जिम्बावेमा हुने तय भएको छ । नेपालका लागि दुवै प्रतियोगिता महत्त्वपूर्ण रहेका नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बताए । ‘नेपालले क्रिकेटमा फड्को मारेको छ, अब पछाडि फर्किनुपर्ने अवस्था छैन,’ उनले प्रसन्नता व्यक्त गर्दै भने । उनको विश्वास छ, ‘भारत र पाकिस्तान जस्ता देशसित खेल्दा नेपालको क्रिकेटको स्तर बलियो हुनेछ ।’ अध्यक्ष चन्दको भनाइ छ, ‘बलिया टोलीसित जति धेरै खेल्यो त्यति नै निखारिँदै गइन्छ, अब हाम्रो क्रिकेट विश्वले तारिफ गर्न लायक हुन्छ ।’ 

नेपाली क्रिकेट टोलीले दुई महिनायता तीनवटा सफलता हासिल गरेको छ । नेपालले सङ्कटमा परेको एकदिवसीय मान्यता आगामी चार वर्षका लागि सुरक्षित गरेको छ । एक दवसीय विश्वकप छनोटमा स्थान पक्का गरेको छ र आजको जितपछि टेस्ट मान्यता प्राप्त पाँच देशसित खेल्न एसिया कपका लागि छनोट भएको छ । नेपालको सपना एसिया कपसम्म मात्र सीमित नहुने क्यान अध्यक्ष चन्द बताउँछन् । उनको भनाइ छ, ‘नेपालको अबको लक्ष्य विश्वकपमा सहभागिता हो ।’

क्रिकेटको माहोल राम्रो हुँदै गएकोमा क्यान सन्तुष्ट छ । नयाँ–नयाँ प्रतिभा देशभर उत्पादन हुने क्रम जारी छ । व्यक्तिगत लगाव र अभिभावकको लगानीका कारण यो सम्भव भएको हो । खेलाडी उत्पादनमा सरकारी उत्पादन न्यून छ भन्दा हुन्छ । यसतर्फ सङ्घीय, प्रदेश र स्थानीय सरकारको ध्यान अनिवार्यरूपमा जानुपर्ने दर्शकको माग छ । नेपाललाई खेल पर्यटनका माध्यमबाट पनि विश्वमाझ चिनाउनमा मद्दत पुग्ने निश्चित छ । यसका लागि तीनै तहका सरकारले होस्टेमा हैँसे गर्न जरुरी रहेको विश्लेषण गरिएको छ । यसो हुन सकेको खण्डमा नेपाल अब क्रिकेटका माध्यमबाट पनि विश्वभर चिनिने छ । –रासस
 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ०८:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल एसिया कपमा छनोट
मंगलबार, वैशाख १९, २०८०

गुल्शनले बनाए अर्धशतक 
मंगलबार, वैशाख १९, २०८०