नेपालीको आम्दानी पोहोरको भन्दा साढे ७ प्रतिशतले घट्यो
काठमाडौँ– चालु आर्थिक वर्षमा नेपालीको आम्दानी घटेको सरकारी तथ्यांकले नै देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकले नेपालीको आम्दानी पोहोरको भन्दा कम भएको देखाएको हो ।
कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा नेपालीको औसत प्रतिव्यक्ति आम्दानी १३९९ अमेरिकी डलर छ । गत आर्थिक वर्षमा पनि नेपालीको औसत प्रतिव्यक्ति आम्दानी समान अर्थात १३९९ अमेरिकी डलर नै थियो ।
गत वर्षको भन्दा यो वर्ष नेपालीको प्रतिव्यक्ति औसत आम्दानी घटेको नदेखिए पनि मूल्य बृद्धिका कारण आम्दानी कम भएको देखिएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत फागुन मसान्तको मूल्यबृद्धि ७।४४ प्रतिशत थियो ।
नेपालीको आम्दानी नबढेपनि मूल्य बृद्धिका कारण खर्च बढ्दा बचत कम हुने देखिएको हो । गत आर्थिक वर्षको जति नै आम्दानी भएपनि यसपालीको मूल्यबृद्धिसँग समायोजन गर्दा नेपालीको खुद आम्दानी पोहोरको भन्दा ७।४४ प्रतिशतले घटेको देखिन्छ ।
११ वर्षमा बढ्यो ५८५ डलर आम्दानी
नेपालको प्रतिव्यक्ति औसत आम्दानी बृद्धि सुस्त देखिएको छ । ११ वर्षअघि ८ सयको हाराहारीमा देखिएको प्रतिव्यक्ति आम्दानी अहिले १४ सय डलरको हाराहारीमा छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०६७/६८ मा नेपालीको औसत प्रतिव्यक्ति आम्दानी ८१४ अमेरिकी डलर थियो । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आम्दानी बढेर १३९९ अमेरिकी डलर पुगेको अनुमान कार्यालयको छ । यद्यपि, आर्थिक वर्ष २०६८/६९ मा प्रतिव्यक्ति आम्दानी घटेर ८०८ अमेरिकी डलरमा सिमित भएको थियो ।